रत्ननगर , कार्तिक ९ ।
पूर्वी चितवनको रत्ननगर स्थित एकता शिशु निकेतनमा शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ । युवा रेडक्रस सर्कलले आयोजना गरेको सो कार्यक्रममा ३२ जनाले रक्तदान गरेको प्राचार्य बालहरी देवकोटाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनमा सभापति हरिप्रसाद पौडेलले विद्यालयका रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा वडा नं १० का वडाध्यक्ष कलाधर पौडेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा टॉडीका कोषाध्यक्ष चन्द्रकान्त ओझा, प्याब्सन रत्ननगरका अध्यक्ष पशुपती शर्मा उपाध्याय , विद्यालयका सह प्राचार्य कमल प्रसाद शर्मा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम युवा रेडक्रस सर्कलकी अध्यक्ष अर्जिना आचार्यको अध्यक्षतामा भएको थियो ।

