चितवन : वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो २५ औं वार्षिकोत्सव साताव्यापी विभिन्न कार्यक्रम गरी मनाएको छ । अस्पतालले आज राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा मूल समारोह आयोजना गरी मनाएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले स्वास्थ्यसम्बन्धी पूर्वाधार र प्रविधिसँगै चितवन स्वास्थ्य सेवाको केन्द्र (हब) का रुपमा विकास हुनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले यसले उपचारका लागि राजधानी नै धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निधान र सचेतनामा सशक्त भएर लाग्न निर्देशन दिनुभयो । उहाँले सीमित स्रोत र साधनका बाबजुत पनि अस्पतालले गरेको प्रगतिको प्रशंसा गर्दै अझै सशक्त भएर लाग्नु पर्ने बताउनुभयो ।
अस्पतालले गर्ने कार्यहरु नेपाल सरकारको नीति अनुसार बिरामी मैत्री बन्नु पर्ने भन्दै उहाँले भन्नुभयो “नेपालमा सबै क्यान्सर रोगको उपचार सम्भाव हुने गरी कार्य गर्ने संकल्प र प्रतिवद्धता आएको छ, धन्यवाद दिन चाहान्छु ।” अस्पतालबाट प्रदान गरिने सेवाहरुको बिस्तृत विवरण प्रतिवेदनका रुपमा सार्वजनिक भएबाट अस्पतालका कार्यहरु नेपाल सरकारका नीति अनुसार बिरामीमैत्री भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । अस्पतालमा आवश्यक पर्ने लिन्याक र सिटि सिमुलेटरको उपकरण खरिद गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने सिंहले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वागमती प्रदेश प्रमुख दिपक देवकोटाले क्यान्सर रोग जनचेतना फैल्याएर रोकथाममा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “क्यान्सर रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्छ । लागिसकेपछि घरजग्गा र गहना बेचेर उपचार गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।”
देवकोटाले यो अस्पताल देशको लाइफलाईन अस्पतालको रुपमा रहेको भन्दै क्यान्सरको उपचारका लागि प्रथम बिन्दुका रुपमा रहेका बताउनुभयो । सवल र उत्कृष्ट उपचारले रोग निको हुने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अस्पतालले उत्कृष्ट सेवा बिस्तार र जनताले सहज उपचार पाउनु पर्छ ।” कार्यक्रमका सभापति एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजयराज न्यौपानेले धन्यवाद ज्ञापन गर्दै अस्पतालको थप स्तरोन्नती गरी बिरामीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाई अघि बढ्ने प्रण समेत व्यक्त गर्नुभयो । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालका गतिविधि तथा भावी योजना प्रस्तुत गर्नुभयो । उहाँले हाल अस्पतालमा नभएका सेवाहरुलाई थप गरी सम्पूर्ण क्यान्सरको पहिचान र उपचार यही गर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो ।
डा.पौडेलले नेपालमा रहेका क्यान्सर रोगका बिरामी मध्ये ५० देखि ६० प्रतिशतको उपचार यस अस्पतालमा हुने गरेको बताउनुभयो । २० प्रतिशत नेपालका अन्य अस्पतलाहरुमा र २० प्रतिशत छिमेकी राष्ट्र सहित विदेशमा उपचारका लागि जाने गरेको उहाँले जानकारी दिनुभयो । भविष्यमा यस अस्पताललाई ७०० शैयाको बनाउने योजना डा.पौडेलले सुनाउनुभयो ।
अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बार्षिक रुपमा बढ्दै गएको उहाँको भनाई छ । उहाँका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा १ लाख ६६ हजार २ सय बिरामीले उपचार गराएको यस अस्पतालमा गत आर्थिक वर्ष २०८०÷०८१ मा १ लाख ८८ हजार ५१४ जनाले सेवा लिएका छन् । जस मध्ये ६ हजार ७९५ नयाँ क्यान्सरका बिरामी रहेका छन् ।
वार्षिकोत्सवको अवसरमा नर्सिङ म्यानुअल र अस्पतालको वार्षिक प्रतिवेदन पुस्तक विमोचन समेत गरिएको थियो । सोही अवसरमा २५ वर्षदेखि क्यान्सर रोग लागेर अहिले निको हुनुभएका बिष्णु प्रसाद पौडेल, अञ्जनी स्मृति अक्ष्यकोषका दाता तिर्थराज पराजुली सहित चीनिया टिमका लिडरलाई सम्मान गरिएको थियो ।