भरतपुर : बर्सेनि आगलागीका घटना बढिरहेका छन् । अधिकांश आगलागीका घटना लापर्बाहीले हुने गरेका छन् । भरतपुर महानगरपालिका दमकल व्यवस्थापन शाखामा बर्सेनि आगलागीका घटना बढेको तथ्याङ्क छ ।

२०७८/७९ मा साना–ठूला गरी ८४ वटा आगलागीका घटना घटेको थियो । यो संख्या २०७९/८० मा बढेर ९७ पुग्यो । २०८०/८१ मा अझ बढेर ११४ वटा आगलागीको घटना भएको भरतपुर महानगरपालिका दमकल व्यवस्थापन शाखाका प्रमुख देवेन्द्र रेग्मीले जानकारी दिए ।

‘चितवनमा घरहरु बढिरहेका छन्, जमिनको अभावले अर्को घरसँग टाँसेर घर बनाउने क्रम बढेको छ’, प्रमुख रेग्मीले भने, ‘उद्योगहरु पनि बढेकै छन्, व्यापार व्यवसाय खुलेकै छन्, जसका कारण आगलागीको घटना बर्सेनि बढिरहेको छ ।’ उनका अनुसार पछिल्लो समय सिरक डसना उद्योग, फर्निचर उद्योग, प्लाई उद्योग तथा ससाना टहराहरुमा आगलागीको घटना बढेको छ ।

उनले मुख्य गरी दुई कारणले आगलागीको घटना बढेको बताए । उनले भने, ‘एलपी ग्यासमा उपभोक्ताबाट हुने लापर्बाही, कमजोरी र अन्जानमा गरिने कामले आगलागीको घटना बढेको छ ।’ अधिकांश आगलागी खाना पकाउँदा एलपी ग्यास लिक हुँदा भइरहेको उनले बताए ।

चितवनमा हाल पाँचवटा दमकल रहेको छ । पूर्वी चितवनका चार नगरपालिकालाई हुने गरी खैरहनीमा दुईवटा दमकल राखिएको छ । भरतपुर महानगरपालिकामा एउटा पुरानो र एउटा नयाँ राखिएको छ । पछिल्लो समय भरतपुर महानगरले पश्चिम चितवनका लागि भनेर भरतपुर–२०, चनौलीमा पनि एउटा दमकल थप गरेको छ ।

‘चितवनमा पाँचवटा दमकल हुँदा पनि पुगेको छैन जुन पर्याप्त होइन, तर पनि दमकलको खर्च बढी आउने हुँदा राख्न पनि स्रोतसाधनले पुग्दैन’, उनले भने, ‘हुन त, अन्तर्राष्ट्रिय मान्यताअनुसार प्रत्येक पाँच किलोमिटरमा एउटा दमकल हुनुपर्छ भनिन्छ, तर त्यति संख्यामा राख्न स्थानीय तहले सक्दैनन् ।’ आगलागीका अधिकांश घटना विद्युत्को प्राविधिक समस्या, मानिसको असावधानी र लापर्बाहीका कारण भएको हुनाले सावधान हुनलाई उनले आग्रह गरे ।

विद्युत् सर्ट हुन नदिन घर तथा उद्योगहरुमा अर्थिङ जडान गरेदेखि आगलागीको घटना कम हुन्छ । बिजुली चम्कँदा तारमा प्रभाव हुने उच्च भोल्टेजको करेन्टलाई अर्थिङले जमिनमुनि पठाउने काम गर्छ, जसले गर्दा विद्युत् सर्ट हुन पाउँदैन । पछिल्लो समय उद्योगहरुमा विद्युत् सर्ट भएर पनि आगलागीको घटना भइरहेको छ । ‘घरमा गरिएको वायरिङ पुरानो भयो, रिवायरिङ गरिँदैन जसले गर्दा आगलागीको जोखिम बढिरहेको छ’, रेग्मीले भने ।

भरतपुर महानगरमा भएको दमकल कावासोतीसम्मको आगलागीको घटनामा प्रयोग गरिएको छ । पदमपुर क्षेत्रमा भएको आगलागीको घटनामा पनि भरतपुरको दमकल प्रयोग भइरहेको छ । धेरैजसो आगलागीका घटना विद्युत् सर्ट र एलपी ग्यास बाल्दा हुने लापर्बाहीका कारण भएका छन् ।

बालबालिकाले हेलचेक्र्याइँ गर्दा पनि कतिपय आगलागीका घटना भएको प्रहरीले जनाएको छ । गाउँघरमा परालको भुस बाल्दा, वाइल्डिङ गर्दा, जंगलमा चुरोट खाएर जथाभाबी मिल्काउनेजस्ता लापर्बाहीले गर्दा पनि आगलागीका घटना घटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार