भरतपुर, १८ श्रावण । व्यवसायी तथा गायक चण्डिप्रसाद (गोविन्द) अधिकारी दुर्घटना प्रकरणमा पीडक उन्मुक्तिको चालबाजीमा लागेको पीडित पारिवारले जनाएका छन् । पीडक पक्ष सवारी चालकका पिता दीपक बहादुर क्षेत्रीले पीडितलाई क्षतिपूर्ति दिन्छु भन्दै भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेको रोहबरमा कागजपत्रमा सहिछाप गरी चेक समेत हस्तान्तरण गरेकोमा पीडकको बैंक खातामा रकम नभएको पीडित पारिवारले बताएका छन् । क्षतिपूर्ति स्वरुप चेक हस्तान्तरण गरेपछि पीडित पक्षले शव बुझेर दाहसंस्कार समेत गरिसकेका छन् । तर एकाएकै पीडकले चालबाजी अपनाउदै दुईजिब्रे स्वरुपमा पीडित परिवारलाई राहत हस्तान्तरण नगर्ने दाउपेजमा लागिरहेको पीडित पक्षको आरोप रहेको छ । गत श्रावण १६ गते जिल्ला प्रहरी कार्यालय भरतपुरमा पीडित पक्षले आफुलाई जबर्जस्ती कागज गर्न लगाएको भन्दै पीडक क्षेत्रीले सो दिन गरेको कागज बदर गरिपाउँ भनी निवेदन समेत दिएका छन् ।
के भएको थियो १० गते राती
गत श्रावण १० गते राती ११ बजेर ३४ मिनेटको समयमा भरतपुर महानगर स्थित वडा नम्बर ८ स्थित अशोक चोकमा पश्चिम तर्फ जादै गरेको बा. प्र. ०६–००३ प ६८३९ नम्बरको टीभीएस मोटरसाइकल र दक्षिण बाट उत्तर तर्फ जादै गरेको बा. प्रा. ०१–०२७ च ५६१९ नम्बरको सुजुकी कार एक आपसमा ठक्कर खादा मोटरसाईकल सवार अधिकारी सोही स्थानमा घाइते भई लडेकोमा कार चालक भनिएको २१ बर्षीय दिवस कटुवाल बिरामी लाई उठाएर अस्पताल नलगी भाग्न सफल भएका थिए । करिव आधा घण्टा सम्म घटनास्थलबाट उद्दार नपाएका अधिकारीलाई करिब १२ बजे पछिको समयमा मात्र स्कुटरमा राखेर अस्पताल लगिएको बताइएको थियो । राती २ बजेर ७ मिनेटमा अस्पतालले अधिकारीलाई मृत घोषित गरेको थियो । अधिकारीलाई ठक्कर दिएको कार भाग्ने दाउपेजमा मध्यरातको समयमा भरतपुरका विभिन्न स्थानहरुमा परिक्रमा गरिरहेको सिसिटिभी दृश्य प्राप्त भएको छ ।
के भएको थियो ११ गते बिहान
फरार रहेको कार खोज्न जिल्ला प्रहरी कार्यालय, पीडितका आफन्तजन तथा स्थानीयहरु दुर्घटनास्थल पुगेर सिसिटिभी पहिचान गर्दै फुटेज संकलन गर्न व्यस्त रहन्छन । फुटेजमा सेतो कलरको सुजुकी कार पहिचान भएपनि नम्बर भने पहिचान हुँदैन । अन्य ठाउँमा रहेका सिसिटिभीहरुको फुटेजहरु संकलन गर्दा गाडी हाकिमचोक तर्फ मोडिएको देखिए संगै थप सिसिटिभी फुटेज संकलन गर्ने तयारी गर्दैगर्दा पीडकले जिल्ला प्रहरी कार्यालयमा आफुलाई आत्मसमर्पण गरेका थिए । यो छानबिनको क्रममा पीडकको काका दिनेश कटुवालले पटक पटक सिसिटिभी फुटेज खोजीकर्तासंग केही पत्ता लाग्यो भनेर सोधेको पीडित पारिवारिक श्रोतको भनाई छ । पारिवारिक श्रोतका अनुसार घटना घटाएर अन्जान झैँ बन्न खोजेका पीडक पक्ष अब प्रहरी घटनाको तथ्य सम्म नै पुग्न लागेको थाहा पाएर आत्मसमर्पणमा अघि बढेको बताउछन । श्रावण ११ गते मध्यान्हको समयमा पिडक दिवस कटुवालको पिता जिल्ला प्रहरी कार्यालय चितवनमा पुगेर पीडितको घाउमा मलहम लगाउन नचुक्ने बताउदै बेलुकीको समयमा क्षतिपूर्ति स्वरुप पीडित पक्षलाई ३५ लाख रुपैया दिने भनि भरतपुर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेको रोहबरमा श्याम शर्मा फुंयाल, पवन कुमार अधिकारी र शंकर धिताल साक्षि रहने गरी कागज गरिदिन्छन र सो रकम बराबरको चेक श्रावण १५ गते भित्र साटिने गरी हस्तान्तरण गरिदिन्छन । निर्धारित मितिमा जब पीडित पक्ष बैंक पुग्छन तब थाहा हुन्छ पीडकको खातामा रकम नै छैन । घटना घटेको आज ९ दिन भएको छ । पीडकले कुरा फेरेको प्रति आफुहरुको आपत्ती रहेको पारिवारिक श्रोत बताउँछ ।
यो विषयमा पीडक दिपक बहादुर क्षेत्रीसंग कुरा गर्दा घटनाको दिनमा पीडित पक्षले आफुलाई हप्कीदप्की गर्दै, धम्की दिँदै जबर्जस्ती रुपमा कागज गर्न लगाएको बताएका छन् । पीडितलाई न्याय दिन आफु कटिबद्ध रहेपनि सो दिन आफ्नो इच्छा विपरित आफुलाई एकलौटी ढंगले पेलिएको उनको प्रतिक्रिया थियो । समस्या समाधानका लागि फेरी १ दिन सामाजिक व्यक्ति, राजतीतिक दल, पीडित पक्ष, टोल विकास संस्था, वडाकार्यलयको प्रतिनिधिहरु बीच छलफल गर्नुपर्ने उनको भनाई छ ।