काठमाडौं : चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले सरकारप्रति गुनासो पोखेका छन् । कार्यकाल सकिएको दुई दिनपछि बिहीबार आयोजित बिदाई कार्यक्रममा केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताए । नेपाली फिल्म क्षेत्र यहाँसम्म आइपुग्न सरकारले के गर्यो भन्दै उनले प्रश्न तेर्स्याए । ‘नेपाली सिनेमा क्षेत्रमा धेरै गर्न बाँकी छ । जति काम भयो, कम भने होइन । नेपाली फिल्मले छलाङ मारेको छ,’ बिदाई मन्तव्यमा उनले भने ।नेपाली फिल्मका लागि सरकारले एउटा स्टुडियो बनाउन नसकेकोप्रति केसीले आक्रोश पोखे । राष्ट्रिय चलचित्र उद्योगको विकासलाई प्राथमिकतामा राखेर आफूहरुले धेरैपटक पहल गरेको दाबी उनले गरे ।
आफु कुनै स्वार्थ विना बोर्डमा आएको उनको भनाई थियो । ‘आगामी दिनमा पनि म चलचित्रमा योगदान दिएर अघि बढ्छु । यो देश र कलाकारिता छोडेर म कतै जाने छैन,’ उनले भने । काम गर्दा सोचेको जस्तो हुन नसकेको उनले स्वीकारे । ‘तर मेरो प्रयास जारी थियो । मेरो उद्देश्य राष्ट्रिय चलचित्रलाई राम्रो गराउनु थियो । जुन चीज मैले यहाँ आएर थाहा पाएँ,’ उनले भने, ‘अन्जानमा नराम्रो काम गरेको छु भने क्षमा माग्न चाहन्छु ।’