रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुरेन्टमा काम गरिरहेका कामदारहरुका लागि बेकरी तालिम शनिबारबाट सुरु गरिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाले सपना भिलेज सोसल इम्प्याक्ट र पुम नेदरल्याण्ड संगको सहकार्यमा आयोजना गरेको तालिममा १७ जनाको सहभागिता रहेको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।
बछौली माविमा आयोजना गरिएको तालिमको वडा नं ६ का वडाध्यक्ष किरण महतोले उद्घाटन गरेका थिए । सो अबसरमा उनले सौराहाका होटल तथा रेष्टुरेन्टमा खानाको गुणस्तर सुधारको लागि आयोजना गरिएको तालिम फलदायी हुने बताए । रेवानका अध्यक्ष गिरीले काम गरिरहेका कामदारहरुको क्षमता विकास र बेकरी परिकारको गुणस्तरका लागि तालिम आयोजना गरिएको बताए ।उनले रेवानको सौराहाको सौन्दर्यकरणसंगै खानाको गुणस्तर सुधार, तथा पर्यटन विकासको लागि विभिन्न गतिविधि गर्दै आएको बताए ।
चार दिने सो तालिममा नेदरल्याण्डका अनुभवी कुकले बेकरीका विभिन्न परिकार बनाउने सिकाउने छन् । रेवानका महासचिव नविन नेपालले सञ्चालन गरेको सो कार्यक्रममा बछौली माविका अध्यक्ष राममणि खनाल, सहायक प्रधानाध्यापक आत्मराम शर्मा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा कोषाध्यक्ष कृष्ण खतिवडाले स्वागत मन्तव्य राखेका थिए ।

