चितवन : पूर्वी चितवनको कालिका नगरपालिकाले आगामी आ.व. लागि ९२ करोड ९७ लाख ७६ हजारको संशोधित बजेट पारित गरेको छ । नगरपालिकाले समाजिक विकासमा सुशासनका साथै पूर्वाधार निमार्ण, स्वास्थ्य, शिक्षा र स्वावलम्बनलाई जोड दिँदै आ.व. २०८१÷८२ का लागि उक्त संशोधित बजेट पारित गरेको हो ।

दोस्रो कार्यकालका लागि पाँचौं नगरसभामार्फत नगर उपप्रमुख विमला तमाङले प्रस्तुत गरेको बजेट, नीति तथा कार्यक्रम नगरसभाले पारित गरेको हो । संघीय सरकारका समानीकरण अनुदानतर्फ १३ करोड ९२ लाख, सशर्त अनुदान २७ करोड ४८ लाख, विशेष अनुदान १ रकोड ८५ लाख, समपूरक अनुदान १ करोड ९० लाख र राजस्व बाँटफाँट १२ करोड ३४ लाख, वागमती प्रदेश सरकारको मानिकरण अनुदानतर्फ १ करोड ४० लाख ३७ हजार, सशर्त अनुदानमा २ करोड ४३ लाख १३ हजार, विशेष अनुदान ६५ लाख, समपूरक अनुदान ३ करोड विनियोजन भएको छ ।

त्यस्तै नगरपालिकाले राजस्व वाँटफाँट ६ करोड १७ लाख ७१ हजार, आन्तरिक आयतर्फ ६ करोड, जनसहभागिताबाट १ करोड, सडकबोर्डबाट ६५ लाख, जिल्ला समन्वय समितिबाट ३५ लाख, नदीजन्य आम्दानी र मालपोत रजिस्ट्रेशनबाट ६ करोड तथा गतवर्षको जिम्मेवारी सर्ने ७ करोड ९१ लाख ५३ हजार समेत समावेश गरी कूल ९२ करोड ९७ लाख ७४ हजारको संशोधनसहितको अनुमानित आय विवरण समावेश गरी उपप्रमुख तमाङले नगरसभामा पेश गरेकी हुन् ।

नगरपालिकाले चेपाङ बालबालिकाको शिक्षाको लागि ‘मेयरसँग केयर कार्यक्रम’, एक वडा एक खेल मैदान, कार्यालयदेखि खेतसम्म प्रविधिको प्रयोग, विपन्न समुदायलाई निःशुल्क स्वास्थ्य बिमालगायतका विषयहरु समावेश गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले बजेटमार्फत २५० जनालाई रोजगारी दिने योजना पनि अघि बढाएको छ ।

शिक्षाको विकासको लागि किताबविहीन दिन तथा शिक्षालाई प्रविधिसँग जोडेर सीपशाला सञ्चालन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै खुल्ला व्यामशाला, नगरस्तरीय आधुनिक पुस्तकाल र स्वास्थ्यतर्फ वृद्धवृद्धाहरूको घरघरमै स्वास्थ्य परीक्षण, पोषणमैत्री पालिका घोषणा, २०८३ सम्म बालमैत्री नगर घोषणा गर्ने लक्ष्य, नगरभित्रका विपन्न समुदायको निःशुल्क स्वास्थ्य विमा, उपमेयरसँग बालवालिका कार्यक्रम तथा खाद्य सुरक्षाको लागि ‘मीठो–मसिनो खाऊँ, खाना नफालौँँ भन्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

नगरपालिकाले आगामी आ.व.मा चेपाङबस्तीमा फलफूल खेती, कोसेली घर निर्माण, पर्यटन विकासमार्फत स्थानीयको आयआर्जमा जोड दिएको छ । यस्तै नगरसभाले नगरपालिकामा काम गर्ने करार र ज्यालादारीका कर्मचारीहरूको करार अवधिलाई नवीकरण गर्ने प्रस्तावसमेत पास गरेको छ । सुशासन तथा क्षमता विकास समितिका संयोजक दीपकबहादुर भट्टराईले करार र दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीको सेवालाई नवीकरणगर्ने प्रस्ताव पेस गरेका थिए । कालिकाका नगर प्रहरीको रासन भत्तादेखि कालिका नगरपालिका मातहतका वडा कार्यालय, स्वास्थ्यचौकीलगायतका क्षेत्रमा कार्यरत्त कर्मचारीको सेवा करार अवधि नवीकरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

नगरसभामा बोल्दै नगरप्रमुख विनोद रेग्मीले आ.व. २०८१÷०८२ मा पूर्वाधार निर्माणदेखि सबैखाले योजनाहरू समयमै सुरु गर्ने परिपाटीको विकास गर्न सबैलाई निर्देशन दिएका थिए । बेलैमा योजना बनाए पनि ढिला गरी काम सुरु गर्ने परिपाटीले समयमै निर्माण सम्पन्न गर्न कठिन भएको भन्दै उनले भने, ‘बजेट पास भएको छ, बेलैमा बजेटअनुसारको योजना निर्माणको काम सुरु गर्ने प्रण गरौँ ।’ ‘भएको बजेट पूर्णरूपमा कार्यान्वयन गर्ने गरी काम गरौं’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार