चितवन : बकुलहर रत्ननगर अस्पतालमा बिरामीहरुलाई स्वास्थ्य सेवा लिन सहजताका लागि अत्याधुनिक प्रविधियुक्त मेसिन सञ्चालनमा ल्याइएको छ। अस्पतालका मेसु डा मदन ज्ञवालीका अनुसार सेल्फ सर्भिस मेसिन नाम गरिएको उक्त मेसिनबाट बिरामीहरुले सहज रुपमा सेवा लिनको लागि पब्लिक सर्भिस पोर्टल तयार गरिएको हो ।
उक्त पोर्टल मेसिनमा खुलेको हुनेछ र मेसिनमा रहेको क्यूआर स्क्यानरमा सेवाग्राहीले आफ्नो बिलमा रहेको बारकोड देखाएपछि मेसिनबाट स्वचालित रुपमा सम्बन्धित व्यक्तिको रिपोर्ट प्रिन्ट हुनेछ।
अस्पतालका जनस्वास्थ्य निरीक्षक प्रदिप घिमिरेका अनुसार उक्त मेसिनबाट यसका अतिरिक्त स्वाथ्य बीमा अन्तर्गतका बिरामीहरुले स्वास्थ्य बीमा कार्ड मेसिनमा देखाएकै भरमा सम्बन्धित व्यक्तिको बीमा सक्रिय भए–नभएको, म्याद सकिन कति दिन बाँकी छ, पैसा कति बाँकी छ सो समेत हेर्न मिल्ने व्यवस्था मिलाइएको छ।
आगामी दिनमा यसका अतिरिक्त सेवाग्राहीले अस्पतालको विषयमा आफ्नो गुनासो र सुझाव समेत सोहि पब्लिक पोर्टलबाट राख्न सकिने गरी काम अगाडि बढाइको कुरा सुचना अधिकारी राजकुमार घिमिरेले बताउनुभयो ।