माडी । माडीमा जलबायु परिर्वतन र मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । साप नेपाल र डेक नेपालको सहयोगमा अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले आयोजना गरेको सो कार्यक्रममा निकुञ्जका संरक्षण अधिकृत तथा सुचना अधिकारी गणेश प्रसाद तिवारीले वन्यजन्तु बस्तीमा प्रवेश गरेर मानबीय क्षति गर्न थालेपछि मानव वन्यजन्तु बीचको द्वन्द्व बढ्दै गएको बताए । निकुञ्जको कोर क्षेत्रमा आधारको लागि घासेमैदान र बासस्थानको अभावका कारण वन्यजन्तु बस्तीमा प्रवेश गर्ने गरेको भन्दै आर्थिक अभावका कारण वन्यजन्तुको आहार व्यवस्थापनमा समस्या भएको उनको भनाई थियो ।

वन्यजन्तु मानब बस्तीमा प्रवेश गरेर मान्छेमार्ने क्रम पछिल्लो पाँच बर्षमा बढ्दै गएको उनले जानकारी दिए । आर्थिक बर्ष २०७५/०७६ मा १२ जना, २०७६/०७७ मा ९ जना, २०७७/०७८ मा १२ जना, २०७८/०७९ मा २२ जना, २०७९/०८० मा १२ जना र चालु आर्थिक बर्षको १० महिनामा ७ जनाको वन्यजन्तुको आक्रमणबाट ज्यान गएको छ । अधिकाँस घटना मध्यवर्ती क्षेत्रमा घटेको सुचना अधिकारी तिवारीले बताए । कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगानाले सरकारले मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणको लागि ठोस कदम चाल्न नसकेको बताए ।

चोरी शिकारीले गैंडा मार्न कम भएको छ भनेर चुप लागेर बस्ने अबस्था नरहेको भन्दै उहाँले मानबीय क्षति रोक्न तत्काल उचित कदम नचाल्ने हो भने संरक्षणमा विकराल समस्या आउने तर्फ सचेत गराए । संरक्षणमा जनसहभागिता खोज्ने निकुञ्जले विश्व सम्पदा सुचीको तरबार देखाएर जनता तर्साउदै आएको आरोप लगाए । माडी नगरपालिकाकी मेयर ताराकाजी कुमारी महतोले निकुञ्जको हेपाइको प्रबृतिका कारण मध्यवर्ती खारेज गर्नुपर्छ भन्ने आवास उठ्न थालेको बताइन् ।

माडीको विकासमा निकुञ्ज बाधक बन्दै आएको भन्दै उनले निकुञ्ज ऐन र नियमावली संशोधन गरेर विकासको कामलाई सहज बनाउनु पर्ने बताइन् । भरतपुर र माडीको बीचमा रहेको जंगलको सडक कालोपत्रे र रिउ खोलामा करिडोर निर्माणमा निकुञ्जले सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाई छ । मध्यवर्ती क्षेत्र माडी बगई सेक्टर प्रमुख नारायणदत्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बघौडा मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष प्रभूप्रसाद महतोले जलबायु परिर्वतन र मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिबजी गायकले सञ्चालन गरेको उक्त कार्यक्रममा साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पार्दै जलबायु परिर्वतन र मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणमा सम्बन्धित पक्ष जिम्वेवार हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार