रत्ननगर, बैशाख ३० । चितवनको कालिका नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत १ देखि ११ वटै वडाका ४४ जना विपन्न एकल महिलालाई बाख्रा बितरण गरेको थियो । सोही वितरण गरिएको बाख्राको आईतवार नगर उपप्रमुख बिमला तामाङ, आर्थिक विकास शाखा प्रमुख प्रकाश चन्द्र पौडेल, महिला बाल बालिका शाखा प्रमुख सम्झना ढकाल, महिला निरीक्षक सविना श्रेष्ठ, एकल महिला नगर संयोजक राधिका अर्याल लगाएतको टोलिले अनुगमन गरेको छ । कालिका वडा नम्बर ९, १० र ११ मा एकल महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने उद्देश्यले उन्नत जातका वितरण गरेको बाख्राको अनुगमन गरिएको हो । गाउँका एकल महिलाका लागि वडा कार्यालयको सहयोगमा निःशुल्क बाख्रा वितरण गरिएको थियो ।

नगर उपप्रमुख बिमला तामाङले नगरवासी एकल महिलालाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्य राखेर उन्नत जातका बाख्रा वितरण गरिएको बताउनुभयो  । उहाका अनुसार नगरले वडा कार्यालय मार्फत उन्नत जातको बाख्रा निःशुल्क वितरण गरेपछि लाभग्राही महिला हर्षित भएका छन् । नगरले दिएको बाख्रा वडा कार्यालयबाट पाएपछि थोरै भए पनि राहतको महसुस गरेको बताउनुभयो । नगरले निःशुल्क उपलब्ध गराएको बाख्रा आफ्नो घरमा पालेको हुनुपर्ने सर्त राखिएको छ  । समय–समयमा हुने अनुगमनका क्रममा घरमा बाख्रा नपालेको पाइएमा वडा कार्यालयबाट प्रवाह हुने अन्य सेवा–सुविधा सबै रोक्का हुनेबारे सम्बन्धित महिलालाई सचेत गराएरै बाख्रा वितरण गरिएको उपप्रमुख तामाङले बताउनुभयो  ।

आर्थिक समृद्धिको आधार व्यवसाय भएकाले गत वर्ष वितरण गरेका बाख्राबाट आम्दानी गरेको देख्ने आफूहरूको चाहना भएको उहाले बताउनुभयो । आफूहरू सधैँ किसानका पक्षमा रहेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उहाले व्यक्त गर्नुभयो । आइतवार अनुगमनका क्रममा वितरण गरिएका बाख्राहरूले पाठा, पाठी जन्माएको, विपन्न एकल महिलाहरूको आर्थिक सुधार आएको पाईएको महिला बाल बालिका शाखा प्रमुख सम्झना ढकालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/८१ मा कालिका नगरपालिकाका १ देखि ११ वटै वडाका पहिले बितरण गरिएका बाहेक अन्य ५५ जना विपन्न एकल महिलालाई बाख्रा बितरण गर्ने तयारी भईरहेको ढकालको भनाईछ । गत वर्ष विपन्न एकल महिलाहरुलाई तालिम दिएर बाख्रा बितरण गरिएको थियो भने यस वर्ष पनि तालिममा सहभागी गराएर मात्र बाख्रा बितरण गरिने उहाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार