रत्ननगर । चितवनको रत्ननगरमा बैशाख ६ गते बटुकहरुको सामुहिक ब्रतबन्ध समारोह गरिने भएको छ । रत्ननगर जेसीज र रत्ननगर जुनियर जेसीजले टाँडी स्थित शिवालय मन्दिरमा बटुकहरुको सामुहिक ब्रतबन्ध गर्ने भएको हो । जेसीजले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी सामुहिक ब्रतबन्ध गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो ।

धर्मसंस्कृतिको संरक्षणसंगै आर्थिक अबस्था कमजोर भएका परिवारका छोराहरुको सहज तरिकाले कर्म पुरा गर्ने उद्देश्यले सामुहिक ब्रतबन्ध कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सचितराज जोशीले बताए । मन्दिर परिसरमा विधिपूर्वक बटुकहरुको सामुहिक ब्रतबन्ध गरिने उनले जानकारी दिए । सामुहिक ब्रतबन्धको लागि दर्ता शुल्क ५ हजार ५०० निर्धारण गरिएको छ । आर्थिक अबस्था कमजोर भएकाहरुलाई उनीहरुको अबस्था हेरी रकम घटाउन तथा निःशुल्क समेत गर्न सकिने रत्ननगर जेसीजका अध्यक्ष नरहरि पुरीले जानकारी दिए ।

उक्त शुल्क तिरेपछि बटुकलाई ब्रतबन्धको लागि चाहिने पुजा सामाग्री, ब्रतबन्ध गर्दा चाहिने जोगी भेषको बस्त्र, बटुकको घर परिवार र आफन्तहरु १० देखि १५ जनालाई भोजन प्रसादको व्यवस्था गरिएको अध्यक्ष पुरीले बताए । रत्ननगर जेसीजले सन २००२ देखि सुरु गरिएको सामुहिक ब्रतबन्ध सन २००७ बाट रोकिएको थियो । विभिन्न कारणले रोकिएको सामुहिक ब्रतबन्ध कार्यक्रम गत बर्षबाट पुन सुरु गरिएको जेसीजका पूर्व अध्यक्ष सुवास पोखरेलले जानकारी दिए । गत बर्ष जिल्ला बाहिर समेतको गरी १३ जना बटुकहरुको सामुहिक ब्रतबन्ध गरिएको उनले जानकारी दिए ।

सामुहिक ब्रतबन्धको दिन नजिकिदै गर्दा विहीबार सम्म १० जनाको परिवारले नाम दर्ता गराइसकेका छन् । पत्रकार सम्मेलनका रत्ननगर जेसीजका उपाध्यक्ष शौरभ रिजाल, महासचिव सुरेशजंग पाण्डे, निर्देशक रोशन काप्री र सदस्य सन्तोष दुवाडी सहभागी थिए । युवाहरुको नेतृत्व तथा क्षमता विकाससंगै सामाजिक कामका सक्रिय रहदै आएको रत्ननगर जेसीजले समाजलाई सकरात्मक सन्देश दिन सामुहिक ब्रतबन्धको कार्यक्रम गर्दै आएको अध्यक्ष पुरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार