रत्ननगर । चितवनमा यही फागुन १९ गते हुने राेटरी मिनी म्याराथुनकाे तयारी पूरा भएकाे छ । आयाेजक राेटरी क्लव अफ रत्ननगरले बुधबार भरतपुरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि म्याराथुन प्रतियाेगिताकाे तयारी पुरा भएकाे जानकारी दिएकाे हाे । प्रतियाेगितामा ४ जना विदेशी सहित ६०२ जना धावकले प्रतिस्पर्धा गर्ने राेटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष तथा प्रतियाेगिताका संयाेजक विपिन पाेखरेलले जानकारी दिए ।
प्रतियाेगितामा नेपाल घुम्न आएका जर्मनी नागरिक दुई जना र कैन्याका नागरिक दुई जना गरी ४ जना विदेशी धावक समेत सहभागी हुने पाेखरेलले जानकारी दिए । ६०२ जना धावक मध्ये ३६४ जना पुरुष र २३८ जना महिला छन् । प्रतियाेगितामा ४८ जना महिला सहित ८९ जना चेपाङ समुदायका युवा युवतीले सहभागिता जनाउदै छन् । प्रतियाेगिता खुल्ला र महिला गरि दुई चरणमा हुनेछ ।
खुल्ला तर्फ नारायणी नदी किनारबाट रत्ननगरकाे निपनी सम्म १५ दशमलब ४ किलाेमिटर र महिला तर्फ टिकाैली जंगलकाे मुख्य भागबाट सुरु भई निपनी सम्म पाँच किलाेमिटर दुरी कायम गरिएकाे कार्यक्रम संयाेजक पाेखरेलले जानकारी दिए । प्रतियोगितामा राष्ट्रिय धाबकहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरु, सिमान्तकृत चेपांग समुदायका धावकहरुले प्रतिस्पर्धा गर्ने राेटरी क्लव अफ रत्ननगरका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।
भरतपुर भ्रमण वर्षलाई प्रबर्द्धन साथै समग्र चितवनको पर्यटन प्रवर्धन र रोटरीको जनाविश्वास अभिवृद्धि गर्ने उद्देश्यले मिनी म्याराथुन आयाेजना गरिएकाे हाे । धावक तथा प्रतियोगीहरुलाई दुवै विधामा पुरस्कृत गरिने छ। खुल्ला तर्फ प्रथम पुरस्कार रु.१ लाख नगद सहित चाँदीको तक्मा र प्रमाणपत्र, द्वितीय पुरस्कार रु.५० हजार नगद सहित चाँदीको तक्मा र प्रमाणपत्र, तृतीय पुरस्कार रु. २५ हजार नगद सहित चाँदीको तक्मा र प्रमाणपत्र, चौथो पुरस्कार रु.१० हजार नगद सहित प्रमाणपत्र, पाँचौ पुरस्कार रु.५ हजार नगद सहित प्रमाणपत्र, छैठौ देखि दसौं स्थानसम्म रु.३ हजार सहित प्रमाणपत्र र दूरी पूरा गर्ने चेपाङलाई रु.२ हजार नगद प्रदान गरिने छ । महिला तर्फ प्रथम पुरस्कार रु.२० हजार नगद सहित चाँदीको तक्मा एवं प्रमाणपत्र, द्वितीय पुरस्कार रु.१० हजार नगद सहित चाँदीको तक्मा एवं प्रमाणपत्र, तृतीय पुरस्कार रु.५ हजार नगद सहित चाँदीको तक्मा र प्रमाणपत्र, चौथो पुरस्कार रु. ३ हजार नगद सहित प्रमाणपत्र, पाँचौ पुरस्कार रु.२ हजार ५ सय नगद सहित प्रमाणपत्र, छैठौं देखि दसौं स्थान सम्म रु.२ हजार नगद सहित प्रमाणपत्र र दूरी पूरा गर्ने चेपाङ महिलालाई रु.१ हजार नगद प्रदान गरिनेछ ।
प्रतियाेगिताकम लागि महालक्ष्मी बिकास बैंकबाट टिसर्ट सौजन्य स्वरुप रु. ३ लाख, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले खुल्ला तर्फको प्रथम पुरस्कार बापत रु. १ लाख, गुरु ट्राभल्स काठमाडौँबाट रु. १ लाख र अंकुरम पोलिक्लिनिक रत्ननगरबाट महिला लक्षित प्रतियोगिताको प्रथम पुरस्कार बापत रु. २० हजार सहयाेग गरेका छन् । प्रतियाेगिताकाे उद्घाटन भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहालले र महिला लक्षित प्रतियोगिताको उद्घाटन राेटरीका गभर्नरबाट तथा पुरस्कार वितरण एवं समापन होटल स्टार चितवन रत्ननगरको सभाहलमा रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा हुनेछ ।

