रत्ननगर, फागुन ३ । बाल विवाह नियन्त्रणका लागि चितवनको कालिका नगरपालिका वडा नं. ९ स्थित चतुर्मुखी माध्यमिक विद्यालयमा बाल विवाह विरुद्धको सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । कालिका नगरपालिका कार्यालयको आयोजनामा बिहीवार विद्यालयका कक्षा ६ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई बाल विवाह विरुद्धको सचेतना अभियान कार्यक्रम आयोजना गरिएको हो । सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कालिकाका नगर उप प्रमुख बिमला तामाङ रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले यस क्षेत्रमा बाल विवाहका घटनाहरु बढ्दै गएका कारण न्यूनिकरणको लागि सचेतना अभियान कार्यक्रम गरिएको बताउनुभयो । आर्थिक, सामाजिक, सांस्कृतिक, कानुनी सचेतनाको कमी, सामाजिक सञ्जालको बढ्दो गलत प्रयोग लगायतको कारण बाल विवाह भइरहेको भन्दै उहाँले बाल विवाह न्यूनिकरणको लागि स्वयम् बालबालिका सचेत हुन सक्दा पनि धेरै परिवर्तन हुन सक्ने बताउनुभयो । उँहाले भन्नुभयो, ‘सचेतना मुलक अभियानले यस क्षेत्रमा केही हदसम्म बाल विवाहमा कमी आउनेमा विश्वास छ ।’

कालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमले नेपालको संविधान २०७२ ले बाल विवाहलाई दण्डनीय अपराधको रुपमा लिएतापनि गाउँ समाजमा बाल विवाहले प्रोत्साहन पाईरहेको बताए । बाल विवाहलाई निरुत्साहन गर्न यो कार्यक्रम सञ्चालन गर्नुको मुख्य उद्धेश्य रहेको बताए । किशोर किशोरीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हुनाले यस क्षेत्रमा बाल विवाह रोक्न मद्धत मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बाल विवाह हुनुका कारण, यसले पार्ने नकारात्मक प्रभाव, यसको न्यूनिकरणको लागि चाल्नु पर्ने कदम र कानुनी व्यवस्थाहरुको बारेमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरिक्षक रिमा कोईरालाले सहजीकरण गर्नुभएको थियो ।

सचेतनामुलक अभियान मार्फत बालवालिकाको हकहित तथा अधिकार, बाल विवाहका कारण महिला तथा बच्चाको स्वास्थ्यमा पर्ने शारीरिक असर, प्रजनन स्वास्थ्य, बाल विवाहका कानूनी सजाय लगायतका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिईएको थियो । सामाजिक विकास समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिका वडा नंं. ९ का वडा अध्यक्ष निलकण्ठ मगर, वडा सदस्य छोन वहादुर प्रजा, कार्यपालिका सदस्य शान्ति महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर वहादुर थापा, प्राधानाध्यापक चन्द्र वहादुर गुरुङ, सहायक प्राधानाध्यापक पूर्ण पुरी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन नगरपालिकाका महिला विकास निरिक्षक सविना श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार