१२ माघ, काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । जितको लागि १ सय ४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागी कप्तान देव खनालले सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो । चौथो विकेटका लागि देव र आकाशले ९० बलमा ४९ रनको साझेदारी गरेका थिए । त्रिपाठीले ३९ बलमा १ चौका प्रहार गरे । दीपेश कँडेल ४ र दीपक डुम्रे ५ रनमा आउट भएका थिए ।
दीपक बोहरा ४२ बलमा ४ चौकासहित २७ रनमा आउट भए । आकाश चन्द १ रनमा आउट भए । सुवास भण्डारी २९ बलमा १ चौकासहित ९ रनमा नट आउट रहे । अफगानिस्तानका फरिदुन दावुड्जाईले ४.४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । खलिल अहमद र नासिर खानले २-२ विकेट लिए । अरब गुल र घजान्फरले १-१ विकेट लिए ।
त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट भएको थियो । अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए । बलिङ तर्फ नेपालका आकाश चन्दले ५, दिपक कंडेलले २, गुलसन झा, सुवास भण्डारी, तिलक भण्डारीले समान १-१ विकेट लिए ।

