रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ८ का ज्येष्ट नागरिक, अपाङ्गता भएका र एकल महिलालाई विहीबार फाईबरकाे सिरक वितरण गरिएकाे छ । वडा कार्यालयले बढ्दाे जाडाेलाई मध्येनजर गरी ३७० जनालाई सिरक वितरण गरेकाे हाे । वडा कार्यालयमा आयाेजिक कार्यक्रममा रत्ननगरका मेयर प्रलाद सापकाेटा, वडाध्यक्ष कृष्ण चाैधरीले ज्येष्ट नागरिक, अपाङ्ग र एकल महिलालाई सिरक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सिरक वितरणसंगै दुई जना ज्येष्ट नागरिकलाई सम्मान समेत गरिएकाे छ । वडाकाे विकासमा याेगदान गरेका टेकलाल तामाङ र कृष्णवती आचार्यलाई सम्मान गरिएकाे वडा सदस्य विष्णु आचार्यले जानकारी दिए । साथै वडा कार्यालयले जिविकाेपार्जनकाे लागि दुर्गाबहादुर कामी र बलबहादुर विकलाई आरनकाे सामान समेत प्रदान गरेकाे छ । कार्यक्रममा मेयर सापकाेटाले ज्येष्ट नागरिकले नगरकाे विकासमा पु-याएकाे याेगदानकाे स्थानीय सरकारले कदर गर्दै अभिभावकत्व प्रदान गरिरहेकाे बताए । वडाध्यक्ष चाैधरीले स्थानीय सरकार रहेकाे अनुभूति दिलाउन र ज्येष्ट नागरिक, अपाङ्ग र एकल महिलालाई जाडाेबाट बचाउन सिरक वितरण गरिएकाे बताए ।
ज्येष्ट नागरिक, अपाङ्गता र एकल महिला संरक्षण उपभाेक्ता समितिका संयाेजक शिबप्रसाद आचार्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा सदस्य सीता अधिकारी, केदार कुमार श्रेष्ठ, वडा सचिव रुपबहादुर पण्डित क्षेत्री लगायतले मन्तव्य राखेका थिए ।

