रत्ननगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) जिल्ला कार्यसमिति चितवनकाे ३३ औ बार्षिक साधारण सभा शनिबार रत्ननगरमा गरिएकाे छ । कार्यक्रममा प्याब्सन चितवनका अध्यक्ष कृर्तिनिधि अर्यालले भावी कार्ययाेजना, सचिव मदन पुरीले प्रगति प्रतिवेदन तथा काेषाध्यक्ष विष्णुमणि लामिछानेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रीय महासचिव आरवी कटुवालले साउन १६ गते संसदमा दर्ता भएकाे शिक्षा विधेयक संशाेधन सहित पारित हुनुपर्ने बताए ।
निजी विद्यालयलाई धरासायी बनाउने गरि विधेयक जारी गर्न थालिएकाे भन्दै प्याब्सनले सरकारलाई संशाेधनकाे लागि निरन्तर दवाव दिइराखेकाे उनले बताए । स्कुुल क्षेत्र अस्थित्वमा रहेकाे भएपनि उच्च शिक्षा नेपालमा ध्वस्त भइसकेकाे उनले बताए । उनले प्याब्सनकै कारण नेपालमा अनलाइन शिक्षण सिकाई संस्थागत भएकाे बताए । प्याव्सनका सल्लहाकार केशब कुमार श्रेष्ठले निजी विद्यालय बन्द गराउने खेल भइरहेकाे भन्दै सचेत हुन जरुरी रहेकाे बताए । विद्यालयमा चन्दा आतङ्क नराेकिएकाे भन्दै उनले विद्यालय त्रासमुक्त हुन नसकेकाे बताए ।
कार्यक्रममा प्याव्सन केन्द्रीय सदस्यहरु धनप्रसाद रेग्मी, माेहन लामा, प्याब्सन बागमती प्रदेश समितिका सहकाेषाध्यक्ष नवराज भट्ट, इष्टु चितवनका अध्यक्ष जनक घिमिरे, प्याब्सन चितवनका सल्लहाकार हेमराज शर्मा,पुष्पराज श्रेष्ठ, पूर्वअध्यक्षहरु श्रीप्रसाद ढुंगाना,बेल बहादुर गुरुङ, उषा स्कुलकी प्राचार्य नरेश ढकाल, रत्ननगर प्याब्सनका अध्यक्ष पशुपति शर्मा, कालिका प्याव्सनका अध्यक्ष चित्रबहादुर रायमाझी, भरतपुर प्याब्सनका अध्यक्ष इन्द्रेश शाह, खैरहनी प्याब्सन अध्यक्ष टेकराज अधिकारी, राप्ती प्याब्सनका अध्यक्ष रामकृष्ण पन्त, इच्छाकामना प्याब्सनका अध्यक्ष टंकप्रसाद त्रिपाठी लगायतले मन्तब्य राखेका थिए ।
प्याब्सन चितवनका अध्यक्ष कृर्तिनिधि अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष हरिप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए । साधारण सभाकाे बन्दसत्रमा अध्यक्ष,सचिव र काेषाध्यक्षले प्रस्तुत गरेका तीन प्रतिवेदन छलफल पछि सर्वसम्मत रुपमा पारित भएकाे सचिव मदन पुरीले जानकारी दिए ।

