रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १४ स्थित द्वारिकादास माविका ८ जना विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । रत्ननगर नगरपालिकाको सहयोगमा रत्ननगर उद्योग वाणिज्य संघले सञ्चालन गरेको बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत बालमैत्री दिगोपनका लागि शैक्षिक सहयोग गरिएको हो । कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक र संघका अध्यक्ष शंकर गिरीले विद्यार्थीलाई सो सामग्री हस्तान्तरण गरेका थिए । सो अबसरमा उपमयर पाठकले बालमैत्री दिगोपनका लागि शैक्षिक सामाग्रीको सहयोग गरिएको र अन्य बालबालिकाहरुलाई विद्यालय निरन्तरताका लागि आवश्यक्तका आधारमा नगरपालिकाले थप सहयोग गर्ने बताए ।
संघका अध्यक्ष शंकर गिरीले संघले सामाजिक उत्तरदायित्व बहन गर्दैै समाज रुपान्तरणको लागि पारिवारिक तथा आर्थिक समस्याका कारण अप्ठेरोमा परेका बालबालिकालाई विद्यालय निरन्तरताका लागि सहयोग गरिएको बताए । वडा अध्यक्ष होमनाथ रानाभाटले बालबालिकालाई गरिएको शैक्षिक सहयोगबाट अभिभावकलाई ठुलो मद्दत पुग्ने बताए । विद्यालयका प्राचार्य नारायण कुवँरले शैक्षिक सामाग्री पाएपछि विद्यार्थीहरु नियमित विद्यालयमा आउने विश्वास व्यक्त गरे । बाल संरक्षण तथा बाल श्रम न्यूनीकरण कार्यक्रमका मिना खनालले सञ्चालन गरेको सो कार्यक्रममा बाल क्लबका अध्यक्ष, विद्यालय ब्यवस्थापन समितिका सदस्य तथा सहयोग प्राप्त बालबालिकाका अभिभावकहरु समेतको उपस्थिति रहेको थियो ।

