रत्ननगर,पौष २ । पूर्वी चितवनको रत्ननगरमा रहेको गायत्री हरिहर मन्दिरमा साङ्ग श्रीमद्भागवत महापुराण एवं धन धान्यान्चल ज्ञान महायज्ञ हुने भएको छ । रत्ननगर वडा नम्बर १ निपनीमा रहेको मन्दिरमा यही पौष ४ गतेदेखि ११ गतेसम्म महायज्ञ हुने सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
मन्दिर परिसरमा संचालित गुरूकुलम र निर्माणाधीन धर्मशाला निर्माण सम्पन्न गर्न ज्ञानमहायज्ञ आयोजना गरिएको धन धान्यान्चल ज्ञान महायज्ञ संयोजक राधिका मिश्रले बताइन् । पत्रकार सम्मेलनमा निर्माणाधिन धर्मशाला संयोजक शंकर गिरीले धर्मशाला निर्माण सम्पन्न गर्नको लागि सवैको साथ आवश्यक रहेको भन्दै सहयोग गर्न आग्रह गरे ।
पत्रकार सम्मेलनमा बोल्दै मन्दिरका कार्यवाहक अध्यक्ष निलकण्ठ पौडेलले हाल मन्दिर परिसरमा रहेको गुरूकुलममा वेद, संस्कृत विषयमा पठन पाठन हुदै आइरहेको जानकारी दिंदै मन्दिरलाई धार्मिक पर्यटनको रुपमा अघि बढाउन महायज्ञले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा धन धान्यान्चल ज्ञान महायज्ञ सह संयोजक सुनिल आचार्य, जमुना सुवेदी, सह सचिव ठाकुर पौडेल, मन्दिरका उपाध्यक्ष सुनिता मिश्र, सचिव सोम प्रसाद भट्ट, कोषाध्यक्ष मुकुन्द शर्मा आचार्य, सह – कोषाध्यक्ष गंगा रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

