चितवन : ‘गोही र नदी प्रणालीको सुरक्षाका लागि समुदायको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ आउँदो शुक्रबार र शनिबार चितवनको पर्यटकीय क्षेत्र सौराहामा गोही मेला हुँदैछ । नेपालमा दुई प्रजातिका गोही पाइन्छ । सफा बगेको पानीमा बस्ने घडियाल गोही अति संकटापन्न प्रजाति हो । यस्तै मगर गोही पनि जोखिम अवस्थामा परेको जीव हो ।
‘यी प्रजातिमाथि बढेको जोखिम कम गर्न समुदायलाई सचेत बनाउन आवश्यक छ । मेलामा विद्यार्थीदेखि समाजका र अगुवाहरूलाई समेटेर कार्षक्रम गर्न लागेको हो,’ मेला संयोजक रञ्जना भट्टले आइतबार सौराहा बाघमारा सामुदायिक वनमा आयोजित पत्रकार सम्मेलनमा भनिन् । घडियाल चितवनको नारायणी र राप्ती तथा बर्दियाको बंबई र कर्णाली नदीमा पाइन्छ । देशभर २५० को हाराहारीमा घडियाल पाइने भट्टले बताइन् ।
केयर फर नेचरले मेला गर्न लागेको हो । सफा पानीमा पाइने माछा मात्रै खाने घडियाल गोही नदी प्रदुषण र मानवीय गतिविधिका कारण संकटमा परेको छ । माछा मार्न प्रयोग हुने तियारी जालमा अड्केर घडियाल मर्ने गरेका छन् । राप्ती नदीमा मिसिने खहरे खोलामा पनि घडियाल देखिन थालेको हुँदा समुदायलाई सचेत गराउन आवश्यक रहेको बाघमारा सामुदायिक बनमा अध्यक्ष जीतु तमाङले बताए ।

