रत्ननगर, मंसिर १० । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ४ मा उद्यमशिलता तालिम उद्घाटन गरिएको छ । दीगो जिविकोपार्जनका लागि महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले व्यवसाय सचेतना, व्यवसाय सुरु, तथा सामाजिक समावेशीकरण, उद्यमशिलता तालिम, उद्घाटन गरिएको हो । आइतबार आयोजित एक औपचारिक कार्यक्रमका बिच सो नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले तालिमको उद्घाटन गरेका थिए । सो अवसरमा नगर प्रमुख रेग्मीले तालिम पश्चात उद्यमशिलता, आय आर्जनसंग जोडिएर कार्य गर्नसक्नुपर्नेमा जोड दिए । तालिमले आत्म निर्भर साथै सक्षम बन्न प्रेरित गर्ने बताए ।
कार्यक्रममा कालिका-४ का संस्थापक वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठले व्यवसायको लागि सम्भावित क्षेत्रहरुको पहिचान गरी समुदायमा कुन व्यवसाय उपयुक्त छन् भन्ने कुरामा समेत छलफल गर्नुपर्ने बताए । मंसिर १० गतेदेखि १९ गते सम्म सञ्चालन हुने तालिममा वडा नं १, २, ४ र ५ गरी ३५ जना महिलाहरुको सहभागिता रहेको छ । ८ दिने तालिममा व्यवसायको अवधारणा, व्यवसाय सञ्चालन, व्यवसाय र परिवार विचको सम्बन्ध, सफल उद्यमीका गुण लगाएत विषयमा नगरपालिकाका उद्यम विकास सहजकर्ता शर्मिला बस्याल र सन्तोषी कुमालले प्रशिक्षण दिनेछन् ।
कालिका वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उप-मेयर विमला तामाङ, कार्यक्रमका फोकल पर्शन एंव नगरका सुचना अधिकारी प्रकाश पौडेल, कालिका-४ का वडा सदस्य कृष्टी सुनार, बाबुराम शर्मा, चन्द्रकुमारी चौधरी, कार्यपालिका सदस्य सम्झना परियार लगायतको उपस्थिति रहेको थियो । उद्यम विकास सहजकर्ता सन्तोषी कुमालले सञ्चालन गरेकी कार्यक्रममा कार्यपालिका सदस्य ज्वती सुनारले स्वागत मन्तव्य राखेकी थिईन् ।

