चितवन : चितवनको भरतपुरस्थित नारायणी नदीकिनारमा बुधबारदेखि चितवन नारायणी महोत्सव सुरु भएको छ । महोत्सवको एक भव्य समारोहका बीच जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै जिसस प्रमुख अधिकारीले आर्थिक क्षेत्र चलायमान बनाउन महोत्सव उपयोगी हुने बताए ।

रिकभरिङ युनाईटेड प्रालि र औद्योगिक शान्ति नेपालको संयुक्त आयोजनामा सञ्चालित उक्त महोत्सवमा अधिकारीले भने, ‘लागुऔषधको दुव्र्यसनीमा फँसेका विपन्न वर्गका युवाहरूलाई दुव्र्यसनीको दलदलबाट निकालेर सम्मानित जीवन जिउन लायक बनाउने संस्थाको अभियान सराहनीय छ ।’ मानव सेवा आश्रमले हालसालै गरेको सडक मानव उत्थानको प्रसंग कोट्याउँदै अधिकारीले भने, ‘दुव्र्यसनमा फँसेका युवाको उद्धार पनि आजको टड्कारो आवश्यकता हो ।’

लागूऔषध तथा मद्यपान प्रयोगकर्ताहरूको निःशुल्क उपचार गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको रिकभरिङ युनाइटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठले बताए । उनका अनुसार महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्यलाई ७० रुपैयाँको टिकट शुल्क लाग्ने व्यवस्था गरिएको छ । मङ्सिर १६ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा २५० भन्दा बढी स्टलहरु रहेको उनले बताए । महोत्सवमा दैनिक ५ जना भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहेको उनले जानकारी दिए ।

दैनिक पाँच हजार जनाले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव सम्पन्न गर्न ५७ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । रिकभरिङ युनाइटेडले हालसम्म एक हजार ५०० जना लागूऔषध प्रयोगकर्ताहरुको निःशुल्क उपचार गरिसकेको छ ।

औद्योगिक शान्ति नेपालका महासचिव शंकर गुरुङले महोत्सव अवधिभर ५० भन्दा बढी कलाकारले प्रस्तुती दिने बताए । त्यस्तै, महोत्सवमा अटोमोबाइल, कृषि तथा हस्तकला, खाना, फेन्सी लगायतको स्टल रहने छन् भने निःशुल्क स्वास्थ्य शिविर, नृत्य प्रतियोगिता, लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम र अन्तर्राष्ट्रिय स्तरका बाल उद्यान रहने उनले जानकारी दिए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का रामचन्द्र अधिकारी, एमालेका प्रकाश खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कृष्ण भूषाल, भरतपुर–१ का वडाध्यक्ष केशव महर्जन, भरतपुर–३ का वडाध्यक्ष विकास थापालगायतले मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार