रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आइतबार सवारी दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । सुरक्षित दीगो यात्रा नेपाल र रत्नप्रिय क्लवको सयुक्त आयोजनामा बकुलहर चोकमा दीप प्रज्वलन गरिएको हो । दुर्घटनामा मृत्यु भएकाहरुको चिरशान्तिको कामना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दीपप्रज्वलन गरिएको सुरक्षित दीगो यात्रा नेपालका अध्यक्ष सनम विकले बताए ।

दीपप्रज्वलनसंगै ट्राफिक सचेतना कार्यक्रम समेत गरिएको उनले जानकारी दिए । कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारी, वडा नं १० का वडाध्यक्ष कलाधर पौडेल सहित अधिकारकर्मी तथा प्रहरीहरुको सहभागिता रहेको थियो । अधिकारकर्मी र ट्राफिक प्रहरीहरुले पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधनका चालक र यात्रुहरुलाई ट्राफिक सचेतना मुलक पोष्टर समेत वितरण गरेका थिए ।

रत्नप्रिय क्लवका अध्यक्ष बसन्त रानाले दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना गर्दै थप दुर्घटना नहोस भन्ने कामना सहित दीपप्रज्वलन गरिएको बताए । सडक र सवारी साधनको अबस्था समेत नहेरी सवारी चलाउदा दुर्घटना हुने गरेको भन्दै सडक सुरक्षाका विषयमा नागरिक स्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा सवारी दुर्घटनामा घाइतेभएका रत्ननगरका प्रसान्त सापकोटाले राजमार्गमा चल्ने ठुला सवारी साधनहरुको लापरबाहीका कारण दुर्घटना हुने गरेको भन्दै सचेत भएर सवारी चलाउन चालकहरुलाई आग्रह गरे । ठुला सवारी साधनका कारणले साइकल र मोटरसाइकलमा यात्रा गर्नेले अकालमै ज्यान गुमाउनु परेको उनको भनाई छ ।

विश्व सम्झना दिबसको अबसर पारेर वल्र्ड डे अफ रिमेम्बर नामक संस्था र नेपाल इन्जुरी अनुसन्धान केन्द्रको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । चितवनका चालु आर्थिक बर्षमा सवारी दुर्घटनामा परी २१ जनाको ज्यान गएको छ भने ४७ जना घाइते भएका छन् । गत आर्थिक बर्षमा जिल्लामा सवारी दुर्घटनामा परी ७८ जनाको मृत्यु तथा १७० जना घाइते भएको तथ्याङक प्रहरीले उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर