रत्ननगर, कार्तिक २७
भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ का विजेता समर्पण लामालाई रत्ननगरमा सम्मान गरिएको छ । लामालाई रत्ननगर नगरपालिकाले सोमबार नगद ५० हजार सहित सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि चितवन क्षेत्र नम्बर १ का सांसद हरि ढकाल र नगरपालिकाका मेयर प्रलाद सापकोटाले संयुक्त रुपमा लामालाई सम्मान गरेका हुन् ।
रत्ननगर नगरपालिका वडा नं १३ निवासी लामाले भारतिय सोनी च्यानलबाट प्रसारित नृत्य प्रतिस्पर्धाको उपाधि जितेका थिए । उपाधि जितेर नगरपालिकाको नाम देश तथा विदेशमा चिनाउन सफल भएको भन्दै नगरपालिकाले सम्मान गरेको मेयर सापकोटाले जानकारी दिए । तिहारको अवसरमा रत्ननगरमा आयोजित सयपत्री फूलमाला मेलामा औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको कार्यक्रममा मेलाको सह आयोजक रत्ननगर उद्योग बाणिज्य संघले समेत सम्मान गरेको थियो ।
सम्मान कार्यक्रममा मेयर सापकोटाले रत्ननगर नगरपालिकाले लामा जस्तो प्रतिभावान कलाकार पाउनु खुसीको कुरा भएको भन्दै नगर भित्रका प्रतिभावान व्यक्तीलाई आर्थिक हिसाबले समस्या परेको भए नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सम्मान कार्यक्रममा पुष्प मेलाका तथा आर्थिक विकास समितिका संयोजक सोहेन्द्र राज खरेल, जिल्ला समन्वय समिति चितवनका सदस्य संजिव पौडेल, नगरपालिकाका वडाध्यक्षहरुको उपस्थिती रहेको थियो । कार्यक्रम कार्यपालिकाका सदस्य देवेन्द्र बहादुर भुजेलले संचालन गरेका थिए ।