रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आइतबार स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी स्वास्थ्य शिविर गरिएको छ । वडा नं १० स्थित सक्षम आमा समुहले आयोजना गरेको सो शिविरमा ७५ जना महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको आमा समुहकी कोषाध्यक्ष मीना श्रेष्ठले जानकारी दिइन् ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी नर्सिङ सुपरभाइजर अयोध्या पाठकको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोलीले महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको थियो । शिविरको वडा नं १० कि कार्यबहाक वडाध्यक्ष गोमादेवी भण्डारीले एक औेपचारिक कार्यक्रमका बीच उद्घाटन गरेकी थिइन् । सो अबसरमा उनले स्तन तथा पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने महिलाहरुको संख्या बढ्दै गएको भन्दै नियन्त्रणको लागि स्थानीय सरकारले अर्थपूर्ण काम गर्ने बताइन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी नर्सिङ सुपरभाइजर अयोध्या पाठकले १०० जना महिला मध्ये ९९ जनालाई स्तन क्यान्सर हुने गरेको डरलाग्दो अबस्था रहेको बताइन। शिविर उद्घाटन कार्यक्रममा संस्थाकी निवर्तमान अध्यक्ष विन्दु खड्कालाई सम्मान गरिएको थियो ।
आमा समुहकी अध्यक्ष सम्झना लामिछानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सचिव सुरेन्द्र चौधरीले मन्तव्य राखेका थिए । सचिव विन्दु घिमिरेले सञ्चालन गरेको सो कार्यक्रममा निवर्तमान अध्यक्ष खड्काले स्वागत मन्तब्य राखेकी थिइन् ।