१६ कार्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट अन्तर्गतको भर्खरै सम्पन्न ओमान विरुद्धको खेलमा नेपाल ५ रनले पराजित भएको छ । १ सय १४६ रनको मध्यम स्कोर पार गर्न नसकेपछि नेपाल पराजित भएको हो , यो संगै नेपाल समूह उपविजेता बनेको छ । नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ । भोलि हुने खेलमा युएईलाई पराजित गर्न सके नेपाल टी–२० विश्वकपमा छनोट हुनेछ । युएई संग पछिल्लो खेलमा पराजय बेहोरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिएर उत्कृष्ठ प्रदर्शन गर्नुपर्ने छ ।

कीर्तिपरस्थित टीयु मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले ओमानलाई १ सय ४५ रनमा रोकेपनी लक्ष्य भने पुरा गर्न नसकी १ सय ४० रनमै रोकियो । नेपालका लागि विवेक यादवले २४ बलमा ५ छक्कासहित ३९ रन बनाए । कुशल भुर्तेलले २६ र करण केसीले १५ रन बनाए । यसैगरी सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले समान १२–१२ रन बनाए । कुशल मल्लले १० रन बनाए । अरुले दोहोरो अंकको रन जोड्न सकेनन् ।

ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । बलिङ तर्फ नेपालका करण केसीले ३ विकेट लिए, सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारे भने गुल्शन झा र अविनाश बोहोराले समान एक/एक विकेट लिए ।

आजै सम्पन्न अर्को खेलमा युएईले हङकङलाई २२ रनले पराजित गरेको छ । युएई समूह बि को विजेता बनेको छ भने ओमान समूह ए विजेता बनेको छ । समूह ए मा नेपाल उप विजेता बन्दा समूह बि को उपविजेता केहि बेरमा सुरुहुने बहराईन र कुवेतको खेल पछि टुंगो लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार