काठमाडौँ : आईसीसी टी(२० विश्वकप एसिया छनोट अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा कुशल मल्लले ३४ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६५ रन बनाए । नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४३ रन जोड्दै सहज जितको आधार तय गरेका थिए ।
ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ४९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । कुशल पवनदीप सिंहको बलमा मिडअफमा शार्विन मुनिआन्दीबाट क्याच आउट भएपछि लगातार तेस्रो अर्धशतक बनाउन चुकेका थिए ।
दोस्रो विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ६७ रनको साझेदारी गरेका थिए । आसिफ २३ बलमा १ चौका र २ छक्कासहित ३२ रनमा कट एण्ड बोल्ड आउट भए । त्यस्तै, रोहित पौडेल २ रनमा आउट भए । मलेसियाका अमिर अजिमले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । पवनदीपको नाममा १ विकेट रह्यो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । मलेसियालाई हराएसंगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान चार अंक भएपनि नेपाल नेटरनरेटका कारण शीर्षस्थानमा छ ।
आजै सम्पन्न अन्य ३ खेलमा युएई, ओमान र बहराईन विजयी भएका छन् । युएईले कुवेतलाई, ओमानले सिंगापुर त्यस्तै बहराईनले हंगकंगलाई हराएका हुन् ।

