१२ कार्तिक, काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले ट्वान्टी–२० विश्वकपमा छनोट हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको बताएका छन् । आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमना कप्तान पौडेलले पहिलाको कुरालाई बिर्सिएर मुख्य लक्ष्य अब आउने खेलमा लगाएको बताए ।

पछिल्ला ६ महिनायता ब्याटिङ राम्रो भएको बताएका उनले क्वालियफायर घरेलु मैदानमा भएको र आफूहरुले ठूलो अवसरका रूपमा लिएको बताए। उनले कुनै पनि टिमलाई सहज रूपमा नलिएको र क्वालिफाइ हुने आफूहरूको लक्ष्य रहेको बताए ।

पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देसाईले कुनैपनि टिमले विपक्षी टिमलाई कमजोर आँक्न नहुने बताए । उनले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले एकपटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने बताए । उनले आफ्ना लागि सबै खेल महत्त्वपूर्ण रहेको बताए ।

उनले भने–‘हामी केही समयदेखि राम्रो खेलिरहेका छौं । आफ्नो कमजोरीहरूमा सुधार गरेका छौं । सबै खेलाडीलाई आफ्नो रोल र गेम प्लान थाहा छ । हामी आफ्ना बलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौं ।’ देसाईले ‘एकपटकमा एउटा खेल’ को रणनीति लिएर अघि बढ्ने बताए ।

‘हाम्रो लागि प्रत्येक म्याच महत्वपूर्ण छन् । त्यसैले वान गेम एट अ टाइम भन्ने हाम्रो मन्त्र हुनेछ,’ उनले भने । देसाईले टी–२० मा एक–दुई खेलाडीको प्रदर्शनले पनि नतिजा फरक पर्न सक्ने भएकाले त्यही अनुसार खेलाडीको ‘टेम्परमेन्ट’ मा पनि काम गरेको बताए । त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारलाई बिर्सिएर अघि बढ्ने उनको भनाइ छ ।कप्तान रोहित पौडेलले विगत ६–७ महिनादेखि नेपाली टीमले राम्रो खेलिरहेको तर, त्रिकोणात्मक सिरिजको फाइनलमा केही गल्तीका कारण हार्नुपरेको बताए ।

सन्दीप लामिछानेको कमब्याकले नेपालको बलिङ मजबुत हुने प्रशिक्षक र कप्तान दुवैको भनाइ थियो । देसाईले भने–‘सन्दीपलाई अलिकति ब्रेक चाहिएको थियो । अब ऊ नयाँ इनर्जीका साथ ड्रेसिङ रूममा फर्किएको छ । उसको उपस्थितिले धेरै फरक पर्नेछ ।’ कप्तान पौडेलले पनि सन्दीप आएपछि टीममा ब्यालेन्स भएको बताए ।

कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन् भने समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टीयू क्रिकेट मैदानमा खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार