रत्ननगर । बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भागिरथी कुमारी घिमिरे चयन भएकी छन् । संस्थाको विहीबार सम्पन्न २५ औँ बार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले घिमिरेको अध्यक्षतामा निर्विरोध सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पवित्रा घिमिरे, सचिवमा शान्ता अधिकारी, कोषाध्यक्षमा देवकी अधिकारी रिमाल र सदस्यहरुमा लक्ष्मी खतिवडा, सरस्वती चालिसे, मानकुमारी पाण्डे, अनिरा महतो, उमा विडारी क्षेत्री, लक्ष्मी चौधरी, बसन्ती श्रेष्ठ, अधिवेशनले लेखा समिति संयोजकमा प्रमिला ढकाल र सदस्यहरुमा शुशीला चौधरी, अनिता अधिकारी चयन भएका छन् ।
रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाकी अध्यक्ष भागिरथी घिमिरेले बार्षिक प्रतिवेदन, सचिव माला दाहालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष देवकी अधिकारी रिमालले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक शान्ता अधिकारीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सो सहकारीले आर्थिक बर्ष २०७९÷८० मा ८६ लाख ४९ हजार रूपैया मुनाफा गर्न सफल भएको छ । सो आर्थिक बर्षमा ४ करोड ५५ लाख ९२ हजार आम्दानी गरेको सो सहकारीले ३ करोड ४१ लाख ५९ हजार खर्च कटाएर ८६ लाख ४९ हजार ७९४ रुपैया मुनाफा गर्न सफल भएको हो । ३ हजार ६७१ जना शेयर सदस्य रहेको सो सहकारीको शेयर पूँजि तीन करोड ७४ लाख ३७ हजार, जगेडा कोषमा १ करोड २४ लाख ७२ हजार, बचत संकलन २५ करोड ३८ लाख ३१ हजार, ऋण लगानी २६ करोड ६८ लाख २२ हजार, कुल सम्पति ३४ करोड १५ लाख ९७ हजार रहेको संस्थाकी व्यवस्थापक शारदा विडारीले जानकारी दिइन ।
साधारण सभामा ज्येष्ठ शेयर सदस्य एक जना, शेयर वृद्धि गर्ने सदस्य चार जना, सदस्य वृद्धि गर्ने सात जना, उत्कृष्ट वालबचतकर्ता पाँच जना, सानो बाल बचतकर्ता एक जना, उत्कृष्ट बचतकर्ता तीन जना, असल ऋणि नौं जना र एसईइमा उत्कृष्ट अंक ल्याउने २८ जनालाई सम्मान गरिएको व्यवस्थापक बिडारीले जानकारी दिइन् । कार्यक्रममा कार्यपालिका सदस्य तथा संस्थाकी निवर्तमान अध्यक्ष बविता चौधरी, वडा नं ७ का वडासदस्य सुर्यबहादुर तामाङ, चितवन जिल्ला बचत तथ ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइराला, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, सौराहा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकुमार अर्याल, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा, पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष निर्मला कँडेल लगायतले मन्तब्य राखेका थिए । संस्थाकी उपाध्यक्ष सोममाया तामाङले स्वागत मन्तव्य राखेकी थिइन् । २०५५ सालमा स्थापना भएको सो सहकारीको मुख्य कार्यालय बछौली र टाँडी र कुमरोजमा सेवा केन्द्र सञ्चालनमा रहेका छन् ।

