१२ असोज, रत्ननगर। अरु दिनहरुमा किताव कापी बोकेर पढाई लेखाईमा तल्लिन हुने विद्यार्थीहरु आज भने घोडा चढ्ने पालो पर्खिरहेका थिए। कालो चिल्लो घोडामा चढेर विद्यार्थीहरु विद्यालय परिसरमा कुदिरहेको दृश्य मनमोहक समेत रहेको थियो । रत्ननगर १० मा रहेको एञ्जल्स वर्ल्ड स्कुलका विद्यार्थीहरु घोडा सवारीमा रमाईरहेको देख्न सकिन्थ्यो । घोडा चढ्नु भन्दा पहिला आफुलाई डर लागिरहेकोमा घोडामा यात्रा सुरु गरेपछि भने डर रमाईलोमा परिणत भएको विद्यार्थी अनुराग अधिकारीको अनुभव थियो।
विद्यालयमा पाठ्यक्रमका अतिरिक्त तेक्वान्दो, नृत्यकला, उद्घोषण तथा नाट्यकला, स्काउट लगायतका कक्षाहरु नियमित रुपमा संचालन भैरहेकोमा विद्यार्थीहरुमा थप ज्ञान तथा मनोरंजनका लागी पौडी,घोडा सवार, अवलोकन भ्रमण लगायतका अन्य कार्यक्रमहरु समेतमा आफुहरुले संचालन गरेको जानकारी दिदै आज भने घोडा सवारी गराईएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजाराम कार्कीले बताउनुभयो ।
घोडा सवारीलाई साहसिक खेलको रुपमा हेरिन्छ, यो सवारीले विद्यार्थीहरुमा आत्मविश्वास वृद्धि गरि पढाईमा समेत सकारात्मकता थप्ने विद्यालयका प्रधानाध्यापक गणेश शर्माको भनाई थियो।

