
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४१४ युनिट रगत संकलन भएको छ । रोटरी क्लब अफ रत्ननगरले बार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरेको सो कार्यक्रममा ६२ जना महिला सहित ४१४ जनाले रक्तदान गरेको क्लवका पूर्व अध्यक्ष विपिन पोखरेलले जानकारी दिए । एकैदिन एउटै कार्यक्रममा ४१४ युनिट रगत संकलन भएको यो जिल्लामै पहिलो हो । यस अघि सन २०१९ मा सोही क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ४०५ युनिट रगत संकलन गरेको थियो ।
कार्यक्रममा अपाङगत भएका सुरज विक र तिलक पौडेलले समेत रक्तदान गरेका छन् । सो संख्यालाई बढाउने गरी तयारी गरेको रोटरीले लक्ष्य भेट्टाउन सफल भएको हो । सो कार्यक्रमको उद्घाटन रत्ननगरका मेयर प्रल्हाद सापकोटाले गरेका थिए । सो अबसरमा उनले रक्तदान जस्तो पवित्र कार्यमा रोटरी क्लवको लगाबले स्थानीय सरकारलाई समेत उत्साहित बनाएको बताए । रत्ननगरमा रक्त संकलन केन्द्र स्थापना गरिएको भन्दै उनले रगतको अभावमा छटपटिने दिनको अन्त्य गर्न आफु लागि परेको बताए । क्लवका अध्यक्ष हरिकुमार श्रेष्ठले लक्ष्य भेटाउन गरिएको तयारी अनुसार ४१४ युनिट रगत संकलन गर्न सफल भएको बताए ।
जिल्लामा रक्तदान कार्यक्रम भइरहेका छन उनले भने तर अभाव हुन कहिल्यै छाडेको छैन, ठुलो परिमाणमा रगत संकलन गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो, हामी सफल भयौं । कार्यक्रममा क्लवमा संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, पूर्वअध्यक्षहरु प्रेमकृष्ण खनाल, सुरेन्द्रनाथ रेग्मी, माधव अर्याल, माधव भट्टराई, बुद्धराम जोशी, विष्णु शर्मा, जनक पौडेल, विपिन पोखरेल, शिवराज उप्रेती, निराजन खनाल, स्पाउस क्लवकी अध्यक्ष गीता अधिकारी, तथा क्लवका पदाधिकारी तथा सदस्यहरु, चितवन मेडिकल कलेजका फार्मेसी इन्चार्ज सरोज ज्ञावली लगायतको सहभागिता रहेको थियो । क्यू क्यापिटल कलेज रत्ननगर परिसरमा भएको सो कार्यक्रमको संयोजकमा दीपेन्द्र चापागाई र सर्भिस प्रजेक्ट चियर सुर्यप्रकास रेग्मी रहेका थिए ।