रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा यही भदौं २६ गते देखि असोज ८ गते सम्म सञ्चालन हुने रत्ननगर तीज साँस्कृतिक तथा व्यापारिक महोत्सवको तयारी तीब्र पारिएको छ । संस्कृति संरक्षण तथा जिल्लाको आर्थिक विकासको गर्ने उद्देश्यले रत्ननगर वडा नं ३ मा रहेको दी हेल्पिङ युथ क्लवले महोत्सव गर्न लागेको हो । हरितालिका तीजको अबसरमा शान्तिचोक स्थित खुल्लाचौरमा महोत्सव हुँदैछ । महोत्सवको लागि स्टल निर्माण, प्रचारप्रसार र अन्य व्यवस्थापनका काम भइरहेको क्लवका अध्यक्ष संजय तामाङले जानकारी दिए । संस्कृति संरक्षणसंगै चितवन जिल्लाको आर्थिक विकासको लागि महोत्सव आयोजना गरिएको क्लवका अध्यक्ष तामाङले जानकारी दिए । ‘कोरोनापछि तीजमा दिदी बहिनीहरू राम्ररी रमाउन सकेका छैनन्’ महोत्सव मुल समारोह समितिका संयोजक समेत रहेका तामाङले भने ‘संस्कृति संरक्षणसंगै महोत्सवले जिल्लाको आर्थिक विकासमा समेत टेवा पु–याउने छ’ ।
महोत्सवमा १५० देखि २०० वटा स्टल रहने छ । महोत्सवमा तीज केन्द्रीत स्टलसंगै तीजको दिन महोत्सव परिसरमा भब्य तीज गीत कार्यक्रम गरिने छ । स्थानीय स्तरका प्रतिभा पहिचान र जिल्ला भित्रका उत्पादनको बजारीकरण मार्फत राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य महोत्सवको आयोजना गरिएको मुल समारोह समितिका संरक्षक सुजन क्षेत्रीले बताए । कोरोना महामारीको चपेटामा रहेको चितवनको पर्यटनलाई उकास्ने गरि महोत्सवमा गतिविधि समावेश गरिने छ । महोत्सवले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा योगदान दिने उनले बताए । ओमशक्ति मारुती इभेन्ट एण्ड म्यानेजमेन्ट नामक संस्थाको सहयोगमा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा बाल उद्यन, कृषि परिसर तथा सांस्कृतिक कार्यक्रम तर्फ तीज गीत प्रतियोगिता तथा नृत्य प्रतियोगिता समेत हुनेछ । महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु ज्योति मगर, दुर्गेश थापा, प्रिती आले, कमल खत्री, मिलन लामा, टीका प्रसाईँ, एलिना चौहान, उर्गेन डोङ, करणराज गिरी, संजिवसिंह राना, ढकाराम पौडेल, टीका सानु, वलराम सरकार, विवस पाठक, रमेश मेलोडी, जादुगर गुन्द्रुके मनोज गोर्खाली, मनोज चौधरी, विना भूजेल, मीना गिरी साथमा स्थानीय कलाकारको प्रस्तुती रहने छ ।

