रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ९ स्थित सुकुमबासी बस्तीमा बस्दै आएका छोटुलाल कुमालको उपचारको लागि आर्थिक सहयोगको अपील गरिएको छ । रिक्सा चलाएर परिवार पाल्दै आएका उनी विगत तीन महिना देखि मृर्गौलामा पत्थरी र एपेन्डिस रोगले पीडित बनेका छन् । ससुरालीको घरको पालीमा बस्दै आएका उनले आर्थिक अभावका कारण रोग पालेर बसेका छन् । मृर्गौलाको पत्थरी र एपेन्डिसको उपचारको लागि करिब ६५ हजार लाग्ने अस्पतालले बताएको छोटुलालले बताए ।

रिक्सा चलाएर कमाएको पैसाले परिवार पाल्दै आएका उनीसंग उपचारको लागि पैसा छैन् । गाउँघरमा मागेर गुजरा चलाएको छु उनले भने माग्न नसकेको दिन भोकै सुत्नु पर्छ । छोटुलाल श्रीमती र दुई छोराछोरीका अभिभावक हुन् । रोगले थलिएका छोटुलाल अहिले लौरो टेकेर माग्न जान्छन् । कुमालले कमाउन नसकेपछि उनको परिवारलाई दैनिक गुजरामै समस्या भएको छ । माडी स्थायी घर भएका छोटुलाल सानै उमेर देखि स्थानीय इश्वरी लामिछानेको घरमै बस्दै आएका थिए । २०७१ सालमा निशा रानामगरसंग विवाह भएपछि उनी ससुरालीमा बस्दै आएका छन् ।

छोटुलालले रिक्सा चलाएर परिवार पाल्दै आएका थिए । औषधि किन्ने पैसा पनि छैन् उनले भने उपचारको लागि कसैले सहयोग गरे बाचेर छोराछोरीलाई हुर्काउने थिएं । छोटुलालको छोरा कक्षा १ मा र छोरी कक्षा २ मा पढ्छन् । अभिभावकबाट राम्रो स्याहार सुसार समेत नपाएका उनीहरु भोकभोकै स्कुल जानुपर्ने अबस्था रहेको स्थानीय सञ्चारकर्मी रामु आचार्यले बताए । छोटुलालले मागेर ल्याउन नसकेको दिन दुई बालवालिका भोकभोकै विद्यालय जाने गरेको उनले जानकारी दिए ।

कमाएर परिवार पाल्दै आएका श्रीमान विरामी भएपछि श्रीमति मानसिक पीडामा छिन् । उनले छोराछोरीलाई स्याहार सुसार गर्न समेत मेसो पाउन छाडेकी छन् । छोटुलालमा रोग निको भएर फेरी रिक्सा चलाएर गुजरा गर्ने धोको अझै जीवित छ । करिब पाँच बर्ष अघि वडा कार्यालयले उनलाई रिक्सा दिएको हो । तीन महिना अघि देखि चलाउन छाडेको रिक्सा उनले सुरक्षित तरिकाले राखेका छन् । उपचार गर्न सकेर रोग निको भयो भने अझै रिक्सा चलाउने धोको छ उनले भने दुई बच्चाको भविश्यको लागि पनि मैले फेरी रिक्सा चलाउनु पर्छ । छोटुलालले उपचारको लागि आर्थिक सहयोग गरिदिन सबैमा आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार