चितवन : हिन्दू नारीहरुको महान् चाड तीजलाई तडकभडक गरेर नमनाउन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आफै हस्ताक्षर गरि जारी गरेको विज्ञप्तीमा प्रशासनको स्वीकृति विना सार्वजनिक एवं पार्टी प्यालेसमा तीज मनाउन नपाइने जनाएको छ। तीजमा खर्चिला कार्यक्रम गरेर तडकभडक गरेमा कारबाही गर्ने चितवन प्रशासनको चेतवानी छ । प्रशासनले सूचनामा तडकभडकका साथ तीज मनाउँदा विकृति र सामाजिक अपराधका घटनामा प्रोत्साहन हुने भएकोले त्यस्ता कार्य नगर्न निर्देशन दिएको हो ।
प्रशासनले सार्वजनिक स्थल र पार्टी प्यालेसहरुमा मेला, महोत्सव आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृती आवश्यक पर्ने सूचनामा उल्लेख गरेको छ ।सूचनामा भनिएको छ, ‘सामाजिक शिष्टाचार, नैतिकता र अनुशासन कायम गर्ने कार्यमा जिल्लाका राजनीतिक दल, नागरिक समाज, पेशासगत संघसंस्था सञ्चारकर्मीहरु, महिला सञ्जाल र सम्पूर्ण जिल्लाबासीबाट सहयोगको अपेक्षा गरिएको छ ।’ यदि कसैले कानुनको बर्खिलाप हुने कार्य गरेमा कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

