
रत्ननगर, भदौ १२ ।
पूर्वी चितवनको रत्ननगरमा नेपाली काँग्रेसका ६६ प्रतिशत नेता तथा कार्यकर्ताहरुले क्रियाशिल सदस्यता नविकरण गरेका छन् । गत बर्ष नविकरण गरेका क्रियाशिल सदस्यहरुलाई आधार मान्दा यस बर्ष ६६ प्रतिशतले क्रियाशिल सदस्यता नविकरण गरेका हुन ।
गत बर्ष ४ हजार ८५८ जनाले सदस्यता नविकरण गरेका थिए । यस बर्ष भने त्यो संख्या घटेर ३ हजार २३४ मा झरेको छ । गत बर्षको नविकरण भएको संख्यालाई हेर्दा अहिले नविकरण भएको संख्या ६६ प्रतिशत हुन आउछ । नेपाली कांग्रसले पहिलो चरणमा साउन ६ देखि १९ सम्म नविकरण गर्ने समय सिमा तोकेको थियो । सो अबधिमा ३० प्रतिशतले मात्र क्रियाशिल सदस्यता नविकरण गरेपछि समयाबधि थपिएको नगर सचिव अनिता अर्यालले जानकारी दिइन् ।
साउन १९ गते देखि २७ गते सम्म समयाबधि थप गर्दा नविकरण गर्ने नेता तथा कार्यकर्ताको संख्या ह्वातै बढेको हो । ६६ प्रतिशत नविकरणलाई रत्ननगर कांग्रेसले भने सन्तोषजनक भनेको छ । अहिले नेपाली राजनीति विथोलिएको छ । ठुला दलप्रति जनविश्वास घट्दै गएका बेला देशकै सबैभन्दा ठुलो दल नेपाली कांग्रेसमा क्रियाशिल सदस्यता ६० प्रतिशत भन्दा माथि हुनुलाई सन्तोषजनक मानिएको हो ।
तत्कालको लागि समयाबधि तोकेर क्रियाशिल सदस्यता नविकरण गरिएको भएपनि यो क्रम नरोकिने नगर सभापति प्रलाद सापकोटाले बताए । ‘काँग्रेसप्रतिको विश्वास र आर्कषण घटेको छैन्’ उनले भने ‘युवाहरुको आर्कषण झन बढ्दोक्रममा रहेको मैले पाएको छु’ ।