रत्ननगर, भदौ १० ।
रत्ननगर वडा नम्बर १ मा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान र डेंगु सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । डेंगु रोग नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले उद्यमशिल महिला समुह १ नम्बर वडा समिति, नवदुर्गा आमा समुह, नवरत्न आमा समुह, स्वास्थ्य स्वयंसेविक र वडामा रहेका टोल विकास संस्थाहरूको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
सो अवसरमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको सङ्क्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै घर घरमा पुगेर वडावासीलाई सतर्कता अपनाउन वडा नम्बर १ का वडा सदस्य गिरिराज लम्सालले आग्रह गरे । उनले लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सहयोग गर्न सवैलाई अनुरोध समेत गरे ।
एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट मान्छेमा डेंगु रोग लाग्ने गरेको र यो प्रजातिको लामखुट्टेले दिउँसोमात्रै मान्छेलाई टोक्ने गरेको नगरपालिकाका स्वास्थ्य स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले बताए । पौडेलले लामखुट्टेको लार्भा नष्ट अभियान र डेंगु सम्बन्धी सचेतना कार्यक्रम नगरपालिकाको सबै वडा चलिरहेको जानकारी दिए ।
वर्षाको समयमा पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यो लामखुट्टेले फुल पार्छ । विशेषगरी, साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण फैलिने नगरपालिकाकी स्वास्थ्य स्वंयसेवीका मिना पौडेलले बताइन ।
उद्यमी महिला समुहको वडा समिति अध्यक्ष सन्तोषी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य बिन्दु मगराती, उद्यमशिल महिला समुह नगर स्तरीय समितिकी अध्यक्ष गीता सिंखडा,नबदुर्गा आमा समुहकी अध्यक्ष संगिता खनाल,नवरत्न आमा समुहकी अध्यक्ष इश्वरी आचार्य लगायत आमा समुहमा आवद्ध महिलाहरु, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

