रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० बैरियामा रहेको शिवालय मन्दिर निर्माणको लागि आर्थिक संकलन गर्न सोमबार रुद्री, हवन पुजा तथा धार्मिक भेला गरिएको छ । प्रदेश सरकार र रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा ३५ बर्ष पुरानो सो मन्दिरको पुनर्निमाण सुरु गरिएको छ । नगरपालिकाले दिएको ६ लाखबाट मन्दिर र प्रदेश सरकारले दिएको १० लाखको लागतमा मन्दिर परिसरमा व्यवसायिक भवन निर्माण गरिएको छ ।
सो मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आर्कषक मन्दिर सहित तीन वटा सटर सहितको सभाहल, स्मार्ट प्रतिक्षालय, दुईवटा आर्कषक गेट तथा पार्किङ स्थल निर्माण गर्ने गरी १ करोड ५६ लाखको योजना निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । मन्दिर निर्माणको लागि आर्थिक अभाव भएपछि साउन अन्तिम सोमबारको अबसर पारेर रुद्रि पुजा लगाइएको उनले बताए । मन्दिर निर्माणका लागि स्थानीयबासीले आर्थिक सहयोग गरेको क्षेत्रीले जानकारी दिए । औपचारिक कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले धर्मसंस्कृतिप्रतिको विश्वासले समाज जोगिएको बताए ।
कानुन भन्दा पनि धर्म माथि छ उनले भने मान्छे कानुनसंग भन्दा धर्मसंग बढी डराउछन् । मेयर सापकोटाले नगरभित्र रहेका धार्मिक संस्थाहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नगरपालिकाको योजना रहेको बताए । बागमती प्रदेशका सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनालले धार्मिक संस्थाहरुको संरक्षण गरी रत्ननगरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरी आफुले काम गरेको बताए । कार्यक्रममा मन्दिर निर्माणको लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १० का वडाध्यक्ष कलाधार पौडेल, मन्दिरका पूर्व अध्यक्ष नवराज पाठक, शक्तिशाली आमा समुहकी अध्यक्ष विरन्जना घिमिरे, मन्दिर निर्माण समितिका संयोजक झलक प्रसाद भट्ट, स्थानीय टीकाराम पौडेल लगायतले मन्तव्य राखेका थिए ।

