
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा रुचि नभई देशको अर्थतन्त्र र जनताको दैनिकीको चिन्ता भएको बताउनुभएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सरकार नेपाललाई असफल मुलुक बनाउन लागेको आरोप लगाउनुभयो ।
एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले सुन काण्डमा सरकारको संलग्नता छैन भने छानविन समिति बनाउन डराउन नहुने बताउनुभयो । संसद् देश र जनताका लागि काम गर्ने थलो भएको बताउँदै अध्यक्ष ओलीले देशको अर्थतन्त्र सरकारकै कारण ध्वस्त हुँदै गएको पनि बताउनुभयो ।