रत्ननगर,साउन २७ ।
रत्ननगर-९ मा रहेको रत्न प्रिय क्लवको प्रथम वार्षिक उत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम गरिएको छ । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो,स्वस्थ रहौं समृद्ध बनौं’ भन्ने मूल नाराका साथ रत्न प्रिय क्लबको आयोजना तथा रत्ननगर नगरपालिका वडा नं. ९ को सह आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा ५ जना महिला सहित ७९ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष बसन्त राना मगरले जानकारी दिए । चितवनमा रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गरिएको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले चितवनमा मात्रै नभईकन देशैभर रगत अभाव भईरहेको अवस्थामा रक्तदान कार्यक्रम गर्नु प्रशंसनिय भएको बताए । उनले भने, ‘हरेक चिज बनाउन चाहेमा बनाउन सकिन्छ । रगत बनाउन सकिदैन, रगत अति आवश्यक छ ।’पूर्वी चितवन लागु औषधको हव बनिरहेको अवस्थामा रत्न प्रिय क्लबले लागु औषध नियन्त्रण, ट्राफिक सचेतना, सरसफाई, खेलकुद लगाएत सामाजिक क्षेत्रहरुमा थुप्रै उदाहरणीय कार्यहरु गरिरहेको भन्दै प्रशंशा गरे ।
कार्यक्रममा रत्ननगर वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारीले सामाजिक क्षेत्रमा धेरै कार्यक्रम गर्ने क्लबले रक्तदान कार्यक्रमलाई पनि निरन्तरता दिएकोमा आयोजकलाई धन्यवाद दिँदै यस्ता कार्यक्रममा वडा कार्यालयले सधै सहयोग गर्ने बताएका थिए । बालुवाटार विपत व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलले यस प्रकारको रक्तदानले धेरैको जीवन बच्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा योगदान राष्ट्रको लागि रत्ननगरका अध्यक्ष लक्ष्मण पौडेल, समाजसेवी ज्ञानेन्द्रराज पाण्डे, एनिमल वेलफेरका प्रतिनिधि रामचन्द्र आचार्य लगाएतको उपस्थिति थियो । क्लवका सचिव विजय लामाले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक विशाल ओझाले स्वागत मन्तव्य राखेका थिए ।

