रत्ननगर, साउन १३।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने रत्ननगरका छात्राहरुलाई सिर्जनात्मक विषयहरु सिकाइएको छ । बालिकाहरुलाई अध्ययनप्रति रुची बढाउन सिर्जनात्मक विषयहरु सिकाइएको हो ।

सामाजिक रुपान्तरण अभियान नेपाल रत्ननगरको सहकार्यमा सामुदायिक स्रोत केन्द्र नेपालले बकुलहर माविका २४ जना छात्राहरुलाई सिर्जनात्मक विषयहरुबारे आधारभूत ज्ञान दिलाएको हो । सामुदायिक स्रोत केन्द्रले रत्ननगर नगरपालिका कार्यालय परिसरमा स्थापना गरेको कन्टेनर पुस्तकालयमा एक महिना सम्म हप्ताको एकदिन शनिबार छात्राहरुलाई सिर्जनात्मक विषयहरु सिकाइएको सामाजिक रुपान्तरण अभियान नेपाल रत्ननगर सचिव अनिता अर्यालले जानकारी दिइन ।

कुमरोड एकेडेमीकी प्राचार्य विपना ढकालको नेतृत्वमा शिक्षिकाहरु विन्दा चौधरी र प्रकृति चौधरीले सहजीकरण गरेका थिए । बालिकाहरुलाई अनुशासन र स्थानीय विषयहरुमा केन्द्रीत रहेर सिर्जनात्मक कुराहरु सिकाइएको प्राचार्य ढकालले बताइन् । एक महिना अघि सुरु भएको सो कार्यक्रमको पहिलो चरण शनिबार सकिएको छ ।

समापन कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.विश्वनाथ पौडेलले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु मध्ये कक्षा कोठामा ध्यान दिएर पढ्ने विद्यार्थीको संख्या न्यून रहेको बताए । कक्षा ३ मा १४ प्रतिशत र कक्षा ८ मा ४८ प्रतिशत विद्यार्थीले राम्ररी पढ्ने गरेको तथ्याङ्क रहेको भन्दै उनले विद्यार्थीहरुमा अध्ययनप्रतिको रुची बढाउन पनि सिर्जनात्मक सिकाइ आवश्यक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका उपमेयर यादबप्रसाद पाठकले रत्ननगरका सामुदायिक विद्यालयका शिक्षण सिकाइको अबस्था दयनीय रहेको बताए ।

सामाजिक रुपान्तरण अभियान नेपाल रत्ननगरकी अध्यक्ष रिता काप्रीको अध्यक्षतामा भएको समापन कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, सामुदायिक स्रोत केन्द्र नेपालका अध्यक्ष सुवास बराल, वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, सामुदायिक स्रोत केन्द्र नेपालका महासचिव देवेन्द्रकुमार श्रेष्ठ,बकुलहर माविका प्रधानाध्यापक नारायण पौडेल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार