१० श्रावण, नवलपुर । नवलपुर (बर्दघाट–सुस्तापूर्व)को बौदिकाली गाउँपालिका वडा नं. ६ माझडाँडा गाउँका एकै परिवारका दुई जनाको ज्यान गएको छ । शुक्रबार बौदिकाली–६ का ९९ वर्षीय लीला आलेमगर, ६६ वर्षीय कुलमान आले मगर, उमाकुमारी आले, ललिता आलेमगर, खगिसरा सिंजालीमगर र र तारा आलेमगरले उक्त जंगली च्याउ खाएका थिए । जंगली च्याउ खाएर बिरामी परेका उनीहरुलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरेर र आइतबार थप उपचारका लागि चार जनालाई देवचुलीस्थित दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएपछि दुई जना निको भएर घर फर्किएका थिए ।
चार जनामध्ये दुई जना लिला आलेमगर र उमकुमारी आलेको थप उपचारको लागि आइतबार नै चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा मंगलबार उमकुमारी आलेको मृत्यु भएको र लिला आलेलाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि मंगलबार राति घरमा मृत्यु भएको प्रहरीले जनाएको छ । यहाँ हरेक वर्ष जंगली च्याउ खाएर मानिसको मृत्यु हुने गर्छ । तर जनचेतनाको अभावका कारण जंगली च्याउ खाने क्रम रोकिएको छैन । स्थानीय निकायले जंगली च्याउ पहिचान गरेर मात्र खान अनुरोध गरे पनि त्यसको प्रभाव पर्न सकेको छैन ।