रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० मा रहेको बैरिया मावि पशु विज्ञान अध्ययनको उत्कृष्ट गन्तव्यको रुपमा पहिचान बनाउन सफल भएको छ । सीटिइभीटीबाट सम्बन्धन प्राप्त गरी सो विद्यालयले तीन बर्षे डिप्लोमा (पशु विज्ञान) को कक्षा सञ्चालन गरिरहेको छ । प्रयोगात्मक शिक्षा सिकाइको लागि आवश्यक पूर्वाधार रहेको सो विद्यालय रोजगार मुलक शिक्षामा उत्कृष्ट हुँदै बागमती प्रदेशमै सर्बोत्कृष्ट नतिजा ल्याउन सफल भएको कार्यक्रम संयोजक डा.योगेन्द राज पन्तले जानकारी दिए ।
पशु विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुको प्रयोगात्मक सिकाइको लागि रत्ननगर नगरपालिकाको पशु सेवा केन्द्र विद्यालयको हाता भित्र रहेको उनले जानकारी दिए । ‘हामीले प्रयोगात्मक सिकाइलाई जोड दिएका छौं’ उनले भने ‘अध्ययन सके लगतै रोजगारीको लागि यसो गरेका हौं’ । अत्याधुनिक प्रविधि सहितको ल्याव, एक्सरे र भिडियो एक्सरेले प्रावधिक शिक्षा अध्ययनको लागि थप मद्दत गरेको कार्यक्रम संयोजक डा.पन्तले बताए । प्रविधिक शिक्षालाई थप प्रभावकारी बनाउन पूर्णरुपमा आइसीटी मध्यामबाट कक्षा सञ्चालन भइरहेको उनले बताए ।
पछिल्लो समय विद्यार्थीहरु प्राविधिक र रोजगारमुलक शिक्षा तर्फ आर्कषित भइरहेका छन् । पशु विज्ञानको तीन बर्षे डिप्लोमा कक्षा सञ्चालन गरी सो विद्यालयले सामुदायिक विद्यालय कमजोर छैनन् भन्ने पुष्टि गरेको छ । हरेक शैक्षिक सत्रमा भर्ना हुन आउने विद्यार्थीको संख्या उल्लेख्य रहेको सो माविका प्रधानाध्यापक यवराज शर्मा पौडेलले जानकारी दिए । सो विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम समेत सञ्चालन भएको छ । त्यहा अध्ययन गर्ने विद्यार्थीहरु पढाई संगसंगै स्वआर्जनका लागि सफल भएका छन् । अहिले तीन बर्षे डिप्लोमा करिब १०० जना विद्यार्थी अध्ययनरत छन् । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा २०७५ सालबाट सो विद्यालयमा प्रविधिक शिक्षा सुरु गरिएको हो । २०३४ सालमा स्थापना भएको सो विद्यालय नगरकै नमुना विद्यालय हो ।

