१५ असार, रत्ननगर । रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको आयोजनामा रत्ननगरमा ‘वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला’ को आज एक समारोहका बीच उद्घाटन गरिएको छ । व्यक्तिले आफ्नो क्षमता पहिचान गरी उद्यमी बन्न चाहने युवालाई आवश्यक तालिमको व्यवस्था गर्ने र रोजगारदाता हरुसँग समन्वय गरी रोजगारीको अवसर दिलाउन मेला आयोजना गरिएको हो ।
मेलामा ३४ स्टल रहेका छन् । मेलामा उद्योग वाणिज्य संघ चितवन, चितवन चेम्बर्स अफ कमर्श, रत्ननगर उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ रत्ननगर समिति, राप्ती उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ नेपाल, क्षेत्रीय होटल संघ नेपाल (हान) सौराहा, नेपाल पोल्ट्री महासंघ, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल सौराहाले सहकार्य गरेका छन् ।
मेलामा शुक्रबार करिब दुई हजार जनाले अवलोकन पश्चात् व्यक्तिगत विवरण भरेको कार्यक्रम अधिकृत विश्वास श्रेष्ठले जानकारी दिए ।

