रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० भित्र रहेका टोल विकास संस्थाहरुले विभिन्न सामाजिक संघ संस्थाहरुलाई सम्मान तथा वडाको विकासको लागि अन्तरक्रिया गरिएको छ ।
वडा भित्रका २० वटा टोल विकास संस्थाले सयुक्त कार्यक्रमको आयोजना गरी समाजको विकासमा योगदान दिएका सामाजिक संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको स्वाबलम्बन टोल विकास संस्थाका अध्यक्ष युगबहादुर थापाले बताए ।
कार्यक्रममा बैरिया माविका प्रधानाध्यापक युवराज पौडेल, बकुलहर माविका प्रधानाध्यापक नारायण प्रसाद पौडेल,क्रिष्टल कलेजका प्रमुख एक बहादुर जिसी, हरिहर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विष्णु पुरी, जनजागृती सहकारी संस्थाका अध्यक्ष माधबप्रसाद पौडेल, सरसफाई अभियान्ता ज्ञानेन्द्रराज पाण्डे, सक्षम आमा समुहकी कोषाध्यक्ष मीना श्रेष्ठ, पञ्चामृत बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष उषा राना, रत्ननगर खानेपानीका व्यवस्थापक विश्व पौडेल, एकल महिला समन्वय समिति सचिव गीता अधिकारी, लायन्स क्लव अफ मिड नेपालका अध्यक्ष दिलीप सुवेदीलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष कलाधर पौडेलले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन । कार्यक्रममा वडाको चौतर्फी विकासको लागि टोल विकास संस्था र सामाजिक संघसंस्थाले खेल्नुपर्ने भूमिकाको बारेमा समेत अन्तरक्रिया गरिएको छ । सोही अबसरमा गाँउ, टोल र समाजमा निगरानी गर्ने र वडाको विकासमा स्थानीय सरकारसंग सहकार्य गर्ने गरी पर्सौनी टोल विकास संस्थाका अध्यक्ष बेदप्रसाद पाण्डे संयोजक रहेको एक समिति समेत गठन गरिएको छ ।
पाँच सदस्यीय समितिको सचिवमा उषा राना,कोषाध्यक्ष मीना श्रेष्ठ र सदस्यहरुमा रामु पौडेल र रामनाथ खनाल चयन भएका छन् । पर्सौनी टोल विकास संस्थाका अध्यक्ष बेदप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम स्वाबलम्बन टोल विकास संस्थाका अध्यक्ष युगबहादुर थापाले सञ्चालन गरेका थिए ।

