चितवन : यहाँको सरकारी भरतपुर अस्पतालले विगत पाँच वर्षमा रु एक अर्ब १९ करोडभन्दा बढीको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिएको छ । त्यसबाट सात लाख एक हजार एक सय ४१ पटक सेवाग्राहीले सेवा लिएका छन् । अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि बीमा कार्यक्रम लागू भएको हो । गत चैत मसान्तसम्म अस्पतालमा रु एक अर्ब १९ करोड ३७ लाख २६ हजार तीन सय ५८ निकासा भइसकेको छ । चैतसम्ममा भुक्तानी आउन बाँकी रु पाँच करोड हाराहारी छ । अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार यस आर्थिक वर्षको चैतसम्ममा रु ३९ करोड १० लाख ७४ हजार चार सय ७१ निकासा भइसकेको छ । गत आवमा रु ३० करोड ७९ लाख ७४ हजार पाँच सय १२ निकासा भएको थियो ।

आव २०७७-७८ मा रु नौ करोड ७२ लाख ५२ हजार एक सय ८१ निकासा भएको थियो । आव २०७६÷७७ मा यो रकम रु २३ करोड ८८ लाख चार हजाार सात सय ५० थियो । आव २०७५-७६ मा रु १४ करोड ५७ लाख २८ हजार दुई सय २२ थियो भने पहिलो वर्ष २०७४-७५ मा रु एक करोड २८ लाख ९२ हजार दुई सय २० थियो ।

पौडेलका अनुसार अस्पतालमा दैनिक रु सात लाखदेखि रु ११ लाखसम्मको दाबी हुने गर्दछ । बीमाका बिरामी दैनिक सरदर छ सय आउने गर्दछन् । एकै दिन एक हजार चार सयसम्म बीमाका बिरामी आएको तथ्याङ्क रहेको उहाँको भनाइ छ ।

आकस्मिक सेवामा सरदर ६५ जना दैनिक छन् भने यो सङ्ख्या एक सयसम्म पुग्ने गरेको छ । दैनिक भर्ना दर २० जना रहेको उहाँले जानकारी दिनुभयो । यो सङ्ख्या बढीमा ५० जनासम्म हुने गरेको छ ।

चालु आवको चैत मसान्तसम्म बीमामार्फत ७० हजार चार सय १९ जनाले एक लाख ७६ हजार छ सय सात पटक सेवा लिएका छन् । अस्पतालबाट अन्यत्र सिफारिस भएर जानेको सङ्ख्या चालु आवमा सात हजार तीन सय चार हुँदा सिफारिस भएर आउनेको सङ्ख्या चार हजार चार सय तीन रहेको छ । अस्पतालमा आउने बिरामीमध्ये ७१ प्रतिशत बीमाका छन् भने २९ प्रतिशत मात्रै नगदमा उपचार गराउने रहेको पौडेलले जानकारी दिनुभयो ।

चालु आवमा रु ३९ करोड १० लाख ७४ हजार चार सय ७१ बीमाबाट आम्दानी हुँदा नगदबाट रु १७ करोड ९८ लाख मात्रै भएको छ । आउने अधिकांश बिरामी बीमाका छन् । एकै दिन ४४ जनासम्मले बीमामार्फत सिटीस्क्यान सेवा लिएको पौडेलको भनाइ छ ।

चितवनसँगै तनहुँ, गोरखा, लमजुङ, नवलपरासी, मकवानपुर, धादिङ लगायतका जिल्लाका विभिन्न पालिकाले प्रथम विन्दु भरतपुर अस्पताल बनाएका छन् भने यहाँ अध्ययन र रोजगारीका सिलसिलामा रहने धेरैको प्रथम विन्दु यही अस्पताल हुने गरेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालको बीमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै दाबी राम्रो भएकाले भुक्तानी सबै आएको बताउनुभयो । दाबी प्रक्रिया नमिलेमा अस्पतालको आम्दानी घट्ने जनाउँदै उहाँले देशका अन्य अस्पतालको तुलनामा भरतपुर अस्पतालले राम्रो गर्न सकेको बताउनुभयो ।

बिरामीको सहजताका लागि काउन्टर थप गर्ने तयारीमा अस्पताल रहेको उहाँको भनाइ छ । सकेसम्म बिरामीलाई सहजता दिलाउन आफूहरु लागिपरेको पौडेल बताउनुहुन्छ । बीमा बोर्डले समेत भरतपुर अस्पतालको बीमा दाबी पद्धतिलाई राम्रो मानेको जनाउँदै उहाँले क्रमशः अस्पतालको मुख्य स्रोत बीमा बन्दै गएको बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अस्पतालको बीमा कार्यक्रम देशमै उत्कृष्ट भएको बताउनुभयो । अस्पतालमा झन्डै ७० प्रतिशत बिरामी बीमाको हुनु आफैँमा राम्रो भएको उललेख गर्दै उहाँले दाबी प्रक्रिया बोर्डको नियमानुसार भएकाले भुक्तानीमा समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो बीमा दाबी र व्यवस्थापन देशमै उत्कृष्ट बनेको छ ।”

अस्पतालले पालिकाहरुसँग सहकार्य गरेर आम नागरिकलाई बीमामा ल्याउने गरी अभियान सञ्चालन गर्न लागेको उहाँको भनाइ छ । पालिकाहरुमा रहेका अति विपन्नलाई सरकारी तवरबाट बीमा गराउन सकेमा उपचार बीमामार्फत गरेर लाभ दिलाउन सकिने पौडेलको भनाइ छ ।

अस्पतालमा सेवा विस्तार गरी अन्यत्र सिफारिस गर्नुपर्ने सङ्ख्या घटाउने गरी योजना अघि सारिएको उहाँले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, “बीमामा आउने बिरामीका लागि कसरी सहज उपचार दिन सकिन्छ भनेर हामी केन्द्रित छौँ ।”

अस्पतालमा एमआरआई, क्याथल्याब जस्ता अत्याधुनिक सेवा उपलब्ध नहुँदा बिरामी धेरै अन्यत्र जाने गरेका छन् । भरतपुर अस्पतालले ती दुवै सेवा छिट्टै सञ्चालन हुने गरी प्रक्रिया अघि बढाएको पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य बीमामा पाँचजनाको परिवारले रु तीन हजार पाँच सय तिरेर एक वर्षभर रु एक लाखसम्मको सेवा लिँदै आएका छन् । विपन्न परिवारका लागि यो रकम कम भएकाले दायरा बढाउनुपर्ने देखिएको छ ।

अस्पतालले बीमाका बिरामीलाई अन्य बिरामीको तुलनामा फरक ढङ्गले सेवा दिने गरेको गुनासो बिरामीबाट आउने गरेको छ । ती गुनासालाई सम्बोधन गर्नुपर्ने लाभग्राही बताउँछन् । सेवाग्राहीहरुले जुन ढङ्गले सहज उपचार पाउनुपर्ने हो, पाउन नसकेको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार