रत्ननगर, बैशाख २४ । पूर्वी चितवनको रत्ननगरमा आइतबार जेसीज सप्ताह अन्तर्गत ११ जना बटुकको सामुहिक ब्रतबन्ध गरिएको छ । रत्ननगर जेसीजले वडा नं २ स्थित शिबालय मन्दिरमा ११ जना बटुकको सामुहिक ब्रतबन्ध गरेको हो । जेसीजले गरेको सामुहिक ब्रतबन्धमा चितवन बाहिरका जिल्लाहरुबाट समेत बटुकहरु आएर ब्रतबन्ध गरेका छन् । झापा, स्याङजा, भक्तपुरका एक एक जना सहित अन्य भरतपुर र रत्ननगरका रहेको कार्यक्रम संयोजक शौरभ रिजालले जानकारी दिए । पण्डित ध्रुवप्रसाद भट्ट सहित पाँच जना पण्डितले बटुकहरुको सामुहिक ब्रतबन्ध गरेका थिए । शिवालय मन्दिरमा हिन्दु परम्परा अनुसार विधि पुर्याएर सामुहिक ब्रतबन्ध गरिएको पण्डित भट्टले बताए ।
आर्थिक अबस्था कमजोर भएका र धर्मसंस्कृति जोगाउने उद्देश्यले सामुहिक ब्रतबन्ध समारोह गरिएको रत्ननगर जेसीजका अध्यक्ष अमितकुमार गुप्ताले जानकारी दिए । सामुहिक ब्रतबन्ध सुरु हुनुपूर्व एक औपचारिक कार्यक्रमको आयोजना गरी सामुहिक ब्रतबन्धको महत्व र उद्देश्यका बारेमा समेत प्रकास पारिएको थियो । नारायणगढ जेसीजका अध्यक्ष अमर घिमिरे प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा रत्ननगर जेसीजका पूर्वअध्यक्षहरु निरज श्रेष्ठ,विश्वास रायमाझी, विश्वास श्रेष्ठ,बुद्धराम जोशी,सुवास पोखरेल, सुरेशचन्द्र आचार्य लगायतको सहभागिता रहेको थियो ।
रत्ननगर जेसीजका अध्यक्ष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रम महासचिव नरहरि पुरीले सञ्चालन गरेका थिए । सप्ताह अन्तर्गत शनिबार मानबसेवा आश्रम र असहाय बृद्धकल्याण समाजमा आश्रित नागरिकलाई भोजन गराइएको सप्ताह मुल समारोह समितिका संयोजक सुरेशजंग पाण्डेले जानकारी दिए । बैशाख १९ गतेबाट सुरु भएको जेसीज सप्ताह सोमबार समापन हुँदैछ ।

