चितवन : पूर्वी चितवनको रत्ननगरमा अवस्थित देशै तेस्रो पर्यटकीय गन्तव्य सौराहा अहिले दुलहीझैँ सिँगारिएको छ । हरेक वषए फेब्रुअरी १४ तारिकमा मनाइने प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ का अवसर पारेर आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले सौराहामा खाना महोत्सव (फुड फेस्टिबल)को आयोजना हुँदैछ ।

पर्यटकलाई लक्षित गरी रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाले भोलि आइतबार (माघ २९ गतेदेखि फागुन २ गतेसम्म खाना महोत्सव आयोजना गर्ने भएको छ । भ्यालेन्टाइन डे मनाउन परिवार तथा प्रेमिल जोडीको स्वागतका लागि व्यवसायीहरूले सौराहालाई दुलहीझैँ सिँगारेका छन् । चितवनमा घुम्ने, बस्ने र रमाउन सकिने ठाउँ र व्यवस्था छ भन्ने विश्वास दिलाउन कार्यक्रम आयोजना गरिएको महोत्सवका संयोजक ध्रुव गिरीले जानकारी दिए । ‘भ्यालेन्टाइन डे मनाउन अन्त जान नपर्ने गरी हामीले तयारी गरेका छौँ,’ गिरीले भने ।

मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा स्थापित सौराहामा व्यवसायीहरूले पर्यटन विकासका लागि हरेक वर्ष खाना महोत्सव आयोजना गर्दै आएको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिए ।
प्रणय दिवस मनाउन चाहनेका लागि विभिन्न आकर्षक कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ । कार्यक्रमका बारेमा विस्तृतरुपमा जानकारी दिँदै अध्यक्ष गिरीले भने– ‘साँस्कृतिक कार्यक्रम, उपहार, खाना, आवासलगायतका कार्यक्रमलाई व्यवस्थित बनाएका छौँ, स्थानीय उत्पादनका सामग्रीले सौराहा सिँगारिएको छ ।’ सौराहाको हात्तीचोकदेखि गैँडाचोकसम्म डाली र लाइट राखेर सौराहालाई झिलिमिली बनाइएको छ ।

‘सडकमै खाऔँ : सडकमै रमाऔँ’ भन्ने नाराका साथ हात्तीचोकदेखि ड्याकसम्म र मल्लुचोकदेखि गैँडाचोकसम्मको बजार क्षेत्रमा व्यवसायीहरूले सडक किनारमा खानाको परिकार बनाएर पर्यटकलाई पस्किनेछन् । तीनदिने महोत्सवमा स्थानीय परम्परागत तथा विदेशी खाना, स्थानीय कला–संस्कृति, विभिन्न जातजातिका झाँकी प्रस्तुत गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार