
चितवन, २९ पुस । नारायणगढको नारायणी नदीकिनारमा सञ्चालन भइरहेको १४औँ चितवन महोत्सव पाँचौँ दिनसम्म आइपुग्दा एक लाख बढीले अवलोकन गरेका छन् । महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनका सदस्य एवं टिकट व्यवस्थापन समिति संयोजक राजन पियाले आज शुक्रबारसम्म एक लाख पाँच हजार व्यक्तिले महोत्सव अवलोकन गरेका जानकारी दिए ।
पियाकाअनुसार आजमात्रै ३० हजार भन्दा बढी व्यक्तिले महोत्सव अवलोकन गरेका छन् । चितवन महोत्सवमा अवलोकनकर्ताहरु बढ्दै गएका भन्दै पियाले भोलि शनिबार भएकाले ५० हजार भन्दा बढीले महोत्सव अवलोकन गर्ने दाबी गरे । चितवन महोत्सव अवलोकनका लागि विद्यार्थी र सर्वसाधारणलाई फरक फरक टिकटको व्यवस्था गरिएको भन्दै पियाले अनलाइनबाट समेत टिकट काटेर महोत्सव प्रवेश गर्न सकिने जानकारी दिए ।
विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा यसपटक मौरी र तोरी खेतीको प्रवद्र्धन गर्नेगरी तोरीबारीमा मौरीको मस्कट राखिएको छ । चितवनमा तोरी खेतीतर्फ कृषकहरुलाई आकर्षित गर्नेगरी तोरीको जानकारी सहित चितवन महोत्सव प्रवेशद्वारासँगै तोरी बारी निर्माण गरेर त्यहाँ मौरीको मस्कट राखिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं महोत्सव मूल समिति संयोजक चुननारायण श्रेष्ठले जानकारी दिए । त्यस्तै महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीसहित विभिन्न सात वटा छुट्टाछुट्टै डोम राखिएको श्रेष्ठले बताए ।
महोत्सवमा औद्योगिक उत्पादनसँगै बाल उद्यान र रमणीय पार्कमा विभिन्न जंगली जनावरहरुसमेत राखिएको श्रेष्ठको भनाइ छ । महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको भन्दै श्रेष्ठले बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको बताए । महोत्सवमा ४५० वटा स्टल रहेको भन्दै श्रेष्ठले सबै स्टलहरुको बीमा गरिएको बताए ।
महोत्सव स्थलको चौबीसै घण्टा सिसिटिभी क्यामेराबाट निगरानी भइरहेको समेत श्रेष्ठको भनाइ छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकट व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।
बद्रिले नचाए दर्शक
चितवन महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आज चर्चित लोक तथा दोहोरी गायक बद्रि पङ्गेनीले आफ्नो प्रस्तुती राखेका छन् । गायक पङ्गेनीले गीत गाउँदा दर्शकहरुले उनलाई साथ दिँदै छमछमी नाचेका थिए । स्टेजमा उक्लिएर गीत गाउन सुरु गरेसँगै दर्शकहरुले बद्रिलाई साथ दिँदै उनको गीतमा नाच्न सुरु गरेका थिए ।
दिउँसो स्टेज उक्लिएका गायक पङ्गेनीले छुवाछुत विरुद्धको गीत ‘कला चल्यो, गला चल्यो, मान्छे चलेन, तिम्रो घरमा मेरी छोरी भान्छे चलेन…’, ‘तिम्रो साथमा रातो पछ्यौरी…’, ‘भीरको बाटो दुई घण्टा हिँडियो…’, ‘पानी सलल…’ लगायतका गीतहरु गाएर दर्शकलाई छमछमी नचाउन सफल भएका थिए । गायक पङ्गेनीले प्रत्यक्ष दोहोरी गाएर समेत दर्शकलाई मनोरञ्जन दिएका थिए । गायक पङ्गेनीले गायिका अस्मिता डल्लाकोटीसँग दोहोरी गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा लोकदोहोरी गायक प्रजापति पराजुली तथा जादुगर बलराम सरकारको समेत प्रस्तुती रहेको थियो । त्यस्तै आजै राष्ट्रिय लोक दोहोरी प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम भएका महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक नारायण प्रधानले जानकारी दिए । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत शनिबार जादुगर बलराम सरकार, गायक भुवन प्यासी, हास्य कलाकार दिपक थापा मगर, प्रजापति पराजुलीको प्रस्तुतीसँगै दोहोरी गीत प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम हुने प्रधानले बताए ।
खेल पर्यटनसम्बन्धी अन्तरक्रिया हुने
चितवनको खेल पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार ‘खेल पर्यटनको गन्तव्य ः चितवन’ विषयक अन्तरक्रिया कार्यक्रम हुने जनाइएको छ । उद्योग वाणिज्य संघ चितवनका द्वितीय उपाध्यक्ष एवं महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले चितवन महोत्सव अन्तर्गत शनिबार खेल पर्यटनसम्बन्धी गोष्ठी हुने जानकारी दिए । उक्त गोष्ठीमा विभिन्न विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने तथा सहभागीहरुसँग अन्तरक्रिया गरिने ओलीको भनाइ छ ।
शनिबार बिहान ११ बजे उद्योग वाणिज्य संघ चितवनको सभाहलमा खेल पर्यटन सम्बन्धी अन्तरक्रिया हुन लागेको ओलीले बताए । त्यसैगरी, शनिबार बिहान ८ बजे उद्योग वाणिज्य संघ चितवनबाट साइकल ¥यालीको आयोजना गरिएको ओलीले जानकारी दिए । बजारका विभिन्न भाग परिक्रमा गर्दै महोत्सव स्थलमा पुगेर साइकल ¥याली समापन गरिने ओलीको भनाइ छ ।
त्यस्तै महोत्सव अन्तर्गत नै माघ २ गते साहित्यिक गोष्ठी तथा माघ ३ गते कृषि सम्बन्धि गोष्ठी तथा अन्तरक्रिया हुने ओलीको भनाइ छ ।