रत्ननगर,२९ मंसिर ।

चितवनको रत्ननगरमा जारी मेयर कप फुटबल प्रतियोगितामा माडी नगरपालिका फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा भरतपुर महानगरपालिकालाई ३-२ गोलले पराजित गर्दै माडी नगरपालिका फाइनलमा प्रवेश गरेको हो । माडीको जितका लागि पदम नेपाली, विबेक गुरुङ र रितेश क्षेत्रीले एक एक गोल गरेका थिए ।

नेपाल नमुना माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा भरतपुरका लागि रोशन क्षेत्री र अनिल रानामगरले एक एक गोल गरेपनि त्यो जीतका लागि प्रयाप्त भएन । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका माडी नगरपालिकाका खेलाडी विबेक गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन् । उनलाई रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहाकार रामहरि न्यौपाने, खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरी, प्रबक्ता कुलप्रसाद सापकोटा, नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले २ हजार ५०० नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा कालिकालाई पराजित गर्दै आयोजक रत्ननगर नगरपालिका फाइनलमा प्रवेश गरेको थियो । कार्तिक २ गते शनिवार रत्ननगर र माडी नगरपालिका बीच उपाधिका लागि प्रतिस्पर्धा हुने रत्ननगर खेलकुद विकास समितिका सदस्य सौगात भूजेलले जानकारी दिए । सात वटा टिमको सहभागिता रहेको सो प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख १ हजार १११ र दोस्रो हुने टिमलाई ५५ हजार ५५५ रुपैया पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार