चितवन :भरतपुर अस्पतालको आकस्मिक भवनको उद्घाटन गरिएको छ । आज एक समारोहबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलको उपस्थितिमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भवनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख दाहालले आफू भरतपुर महानगरपालिकाको प्रमुख भएपछिको पहिलो निर्णय भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाहरुको ओपिडी टिकट निःशुल्क गरेको बताउनुभयो । उहाँले भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनु पर्नेमा जोड दिंदै संघीय सरकारको आगामी वर्षको बजेटमा समावेश गर्न पहल गर्ने बताउनुभयो । प्रमुख दाहालले भरतपुर अस्पतालले बर्थिङ सेन्टरका लागि भरतपुर महानगरपालाई आग्रह गरेको बताउँदै यसका लागि छलफल भईरहेको बताउनुभयो ।

उद्घाटन समारोहको अध्यक्षता गर्नुभएका स्वास्थ्य सचिव डा. पोखरेलले संघीय सरकारलाई देखाउने राम्रो अस्पताल भरतपुर अस्पताल भएको बताउनुभयो । संघ र स्थानीय पालिकाको समन्वयमा चलेको भरतपुर अस्पताल एउटा मात्रै अस्पताल रहेको भन्दै उहाँले नवनिर्मित आकस्मिक भवनमा ६० शैया पु¥याउनु पर्ने बताउनुभयो । ५० शैया सञ्चालनको तयारीमा रहेको आकस्मिक कक्षमा थप १० शैया विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

अस्पतालमा एमआरआईका लागि आवश्यक प्रक्रिया मन्त्रालयले पूरा गरिसकेको जानकारी दिंदै सचिव डा. पोखरेलले यही वर्ष टेण्डर भएर आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अस्पतालको फोहोर व्यवस्थापनका लागि रु.२ करोड ५० लाख आफू जाने वित्तिकै निकासा गर्ने बताउनुभयो ।

भरतपुर अस्पतालमा कर्मचारी अभाव रहेकोप्रति उहाँले ओएनएम सर्वे अनुसारको जनशक्ति आगामी आर्थिक वर्षबाट पूर्ति गरिने बताउनुभयो ।
सचिव पोखरेलले भन्नुभयो “भरतपुर अस्पतालको विकासका लागि जे जे आवश्यक छ त्यो गर्न हामी तयार छौं ।” भरतपुर अस्पताललाई शैक्षिक संस्थाको विकास गर्नका लागि छलफल भईरहेको उहाँको भनाई थियो ।

कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेडेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पतालको बहिरंग सेवा (ओपिडि) मा धेरै गुनासो आउने गरेको भन्दै जनशक्ति मुख्य समस्याका रुपमा रहेको बताउनुभयो । उहाँले बीमाका कारणले बिरामीको चाप बढेको बताउनुभयो । उहाँले दैनिक एक हजार ७ सय हाराहारी बिरामीको चाप थेग्नु परेको बताउँदै बिहान १० बजेदेखि नै बेईङ क्लिनिक सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले आँखा र दाँतको बहिरंग सेवा एक महिनाभित्रमा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति र रोटरी क्लबको सहयोगमा स्पाईनल इन्जुरी भवन निर्माण भईरहेको बताउनुभयो ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने, कार्यकारी निर्देशक डा. देजकुमार गौतम, चितवन मेडिकल कलेजका निर्देशक डा. दयराम लम्साललगायतको उपस्थिति रहेको थियो । अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा नर्सिङ प्रमुख डा.ऋना श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

विसं २०१३ सालमा बनेको अस्पतालमा नयाँ आकस्मिक भवन बनेको हो । नयाँ आकस्मिक भवनमा हाल ३५ शैया सञ्चालनमा रहेका छन् । केही समयपछि नै ५० शैयामा सञ्चालन गरिने भएको छ ।

नयाँ भवनमा आकस्मिक प्रयोगशाला, एक्सरे, शल्यक्रिया कक्षसहितको सेवा हुनेछन् । नयाँ भवनको माथि दुई तला थप्ने अस्पतालको तयारी छ । दुई तला थप गरेपछि ट्रमा सेन्टरसमेत सोही भवनमा सञ्चालन गरिने छ । स्वास्थ्य मन्त्रालयले रु सात करोड लागतमा एकतले भवन बनाईएकोको हो । अस्पतालले दुई तला थप गर्ने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेको छ ।

तत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आकस्मिक भवनको शिलन्यास गर्नुभएको थियो । भवनको स्वास्थ्य सचिव पोखरेलले उद्घाटन गर्ने गरी अस्पतालले तयारी गरेको भए पनि अन्तिम समयमा आएर भरतपुर महानगरपालिकाका प्रमुख दाहालबाट उद्घाटन गरिएको छ । उद्घाटन बोर्डमा स्वास्थ्य सचिवको नाम रहेको छ भने महानगर प्रमुख दाहालले रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर