चितवन । निर्वाचन आयोग नेपाल बागमती प्रदेशको आयोजना तथा राष्ट्रिय समाचार समितिको सहकार्यमा मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई लक्षित गर्दै आयोगले बुधबार मिडिया अभिमुखीकरण कार्यक्रम गरेको हो ।

निर्वाचन आयोग नेपालका उपसचिव तथा कार्यक्रमका प्रमुख अतिथि गोकर्णमणि दवाडीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा हुनुपर्ने बताए । निर्वाचन सफल बनाउन सम्बद्ध सम्पूर्ण सरोकारवालाको अहमभूमिका र संचार जगतको सहकार्य विना सम्भव नहुने प्रमुख अतिथि दवाडीको भनाइ थियो । उनले मतदाता शिक्षाका लागि आयोगले मात्र सम्भव नहुने भएकाले संचार माध्यमको भूमिका र जनसमुदाय सबैको दायित्व हुने बताए । पत्रकारको समाचार तथ्यपरक र भरपर्दो हुनुपर्नेमा उनले जोड दिए । विश्वसनीय र तथ्यपरकतामा आधारित समाचारले निर्वाचनलाई सहयोग पुग्ने उनको जिकिर थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निर्वाचनको लागि पत्रकार विवेकशील सिपाही भएको बताए । मिडियाको पावरको सही सदुपयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र धैर्यको रुपमा सम्पन्न हुने उनको भनाइ थियो । प्रजिअ तामाङले पत्रकारको विवेक सही ठाउँमा प्रयोग हुनेमा आशावादी भएको बताए । ‘लोकतन्त्रमा निर्वाचन अक्सिजन हो, प्राण हो’ उनले भने, ‘निर्वाचन स्वच्छता, निष्पक्षता कायम गर्न पत्रकारको भूमिका अहम हुनेछ ।’ उनले जुनसुकै सूचनाको सही सम्प्रेषण गर्न पत्रकारलाई आग्रह समेत गरे ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले निर्वाचनलाई मर्यादित बनाउन पत्रकारले सही भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । आयोगले आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रम फलदायी भएको अध्यक्ष अधिकारीको भनाइ थियो ।

निर्वाचनका क्रममा विभिन्न समयमा मिडियाका पत्रकारहरुलाई अवरोध भएको र मतदान स्थल प्रवेशमा रिपोर्टिङका लागि समस्या भएकोले केन्द्रबाटै ध्यानाकर्षण हुनुपर्ने जिकिर गरे । निर्वाचन प्रक्रियामा पत्रकारलाई रिपोर्टिङका लागि सहज वातावरण बनाउनु पर्ने उनको आग्रह थियो ।

कार्यक्रममा पत्रकारहरुले सूचना पाउन गाह्रो भएको र निर्वाचन मत गणनास्थलमा सहजता हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापामगर, राष्ट्रिय समाचार समिति नायव महाप्रबन्धक श्यामप्रसाद रिमाललगायतले मन्तव्य थिए भने संचालन आयोगका कमल भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार